Breaking

नेपालको विश्वकप यात्रा, विराजको विदाईमा अमेरिका उड्यो टोली, रोहित भन्छन् झण्डा फहराउँछौ


काठमाडौँ— नेपालले घरेलु मैदानमा टी–२० विश्वकपको तयारी पुरा गरेको छ । विश्वकप अघि नेपालले शनिबार त्रिवि क्रिकेट मैदानमा वेष्ट इण्डिजविरुद्ध आफ्नो अन्तिम खेल खेल्दै तयारी पुरा गरेको हो । योसँगै नेपाल आज नै थप तयारीका लागि अमेरिका उडेको छ । वेष्ट इण्डिजविरुद्धको पाँच खेलको टी–२० श्रृङ्घलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । यसअघि नै श्रृङ्खलाको उपाधि गुमाईसकेको नेपालले प्रतिष्ठाको लडाई लडिरहँदा वेष्ट इण्डिज एमाथि ६ विकेटको शानदार जित हात पारेको हो । विश्वकपको अन्तिम तयारीमा रहेको नेपालका लागि वेष्ट इण्डिज जस्तो बलियो टिमलाई पराजित गर्दा खेलाडीमा थप आत्मबल बढेको छ । जितसँगै आगामी जुनदेखि सुरु हुने आईसीसी टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोली उच्च मनोबलका साथ अमेरिका प्रस्थान गरेको छ । राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित, युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ र नेपाल क्रिकेट सङ्घ(क्यान)का पदाधिकारीहरूले बिदाई गरेका थिए । घरेलु मैदानमा वेष्ट इण्डिज एविरुद्धको पाँच टी–२० सिरिज अन्तगर्तको अन्तिम खेल खेलेलगत्तै टोली शनिबार अमेरिका उडेको हो । तीन दिन अघि मात्रै घोषणा भएको विश्वकप खेल्ने १५ सदस्यीय नेपाली टोली पूर्वनिर्धारित कार्यक्रम अनुसार नै त्यसतर्फ लागेको हो ।

युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले खेलकुदलाई नयाँ ढंगबाट अगाडि बढाउन आफू लागिपरिरहेको धारणा राखेका छन् । श्रेष्ठले सरकारले दिने भनेको रोकिएका पुरस्कार राशीको प्रक्रिया अघि बढिसकेको समेत बताएका छन् । राजनीतिक क्षेत्रमा भएको अस्तव्यस्थताका कारण खेलाडीहरूलाई पुरस्कार बापतको रकम उपलब्ध गराउन असहज भएको बताएका उनले खेलको परम्परागत शैलीलाई नीतिगत रुपमै सुधार गरेर नयाँ तरिकाबाट हेर्न आवश्यक भएको र सुधारको लागि आफू प्रयासरत रहेको दाबी गरेकाछन् ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्वकपका लागि खेलाडी तयार रहेको बताएका छन् । १० वर्षअघि अग्रज खेडालीहरूले देशको झण्डा विश्वकप मञ्चमा फह¥याईसकेको र अब त्यसको जिम्मा आफूहरूको काँधमा आएको उनको भनाई छ । सिनियर खेलाडीहरूले निर्माण गरेको बाटोमा आफ्नै नेतृत्वमा अघि बढ्न पाएको अवसरलाई महत्व दिने र विश्वकपमा गरेको प्रदर्शनबाट भावी पुस्तालाई पनि क्रिकेट तर्फ लाग्न प्रेरित गर्ने उनको बुझाई छ ।

विश्वकप आउन एक महिनाभन्दा कमको समय बाँकी हुँदा अब आउने दिन नेपाली क्रिकेटको लागि एकदमै महत्वपूर्ण रहने छ । अमेरिका उडेको नेपाली टोलीले त्यहाँ हाईपफमेन्स क्याम्प आयोजना गर्ने छ । विश्वकप अघि नेपाली टोलीले वेस्ट इण्डिजमा पनि अभ्यास गर्नेछ । टिममा सोमपाल कामी बाहेक अन्य खेलाडीसँग आईसीसी टि–२० विश्वकप खेलेको अनुभव छैन । नेपालले जेठ २२ गते नेदरल्याण्स्, ३० मा श्रीलङ्का, , दक्षिण अफ्रिकासँग असार १ र समूह चरणको अन्तिम खेल असार ३ मा बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ ।