Breaking

ओलीको उद्घाटन, बल्न छोड्यो चूलो, २५ लाख सरकारले नदिदा प्लान्टनै अलपत्र


काठमाडौँ— सिलिण्डर युग अन्त्य गरेर घर–घरमा ग्यास पु¥याउने उद्घोषसहित पाँच वर्षअघि उद्घाटन भएको बायोग्यास प्लान्ट दुई वर्षदेखि बन्द छ । सडक बिस्तारका क्रममा फुटेको पाइपलाइन बनाउन नसक्दा २०७५ सालमा डेढ करोड लगानीमा बनेको बायोग्यास प्लान्ट सञ्चालनमा आउन नसकेको हो ।।

नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘घर–घरमा ग्यास पाइप’ पुर्याउने परिकल्पनासहित पाँचवर्ष अघि बायोग्यास प्लान्टको उद्घाटन गरे । विराटनगर महानगरपालिका–१४ जतुवामा २२० घनमिटर क्षमताको ग्यास प्लान्ट उद्घाटन गर्दै उनले सिलिण्डर ग्यासलाई प्रतिस्थापन गर्ने उद्घोष गरे । तर सञ्चालनमा आएको तीन वर्ष नबित्दै प्लान्ट बन्द भएपछि उपभोक्ताको उत्साह अहिले निराशामा परिणत भएको छ । एलपी ग्यासको तुलनामा सस्तो र गुणस्तरीय गोबर ग्यासबाट खाना पकाउन पल्किएका स्थानीय ३२ घरका उपभोक्ता दुई वर्षयता पुनः सिलिण्डर ग्यास किन्न बाध्य बनेका छन् ।

विराटनगर–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा पालिएका करिव दुई सय गाईको गोबरबाट ग्यास उत्पादन हुन्छ । जुन अहिले पनि रोकिएको छैन । त्यहाँ कार्यरत १८ कर्मचारीले मेसिन बिग्रन नदिन ग्यास उत्पादनको कामलाई निरन्तरता दिएपनि पाइपलाइन फुटेका कारण उपभोक्ताको घरसम्म ग्यास पुग्न सकेको छैन । उत्पादित ग्यास त्यत्तिकै खेर गइरहेको छ । नाला निर्माणका लागि सडक खन्ने क्रममा दुई वर्षअघि जेसिबीले पाइपलाइन नै फुटाइदिएपछि त्यसयता प्लान्टबाट ग्यास आपूर्ति ठप्प बनेको हो । प्लान्ट पुनः सञ्चालनका लागि करिव २५ लाख रुपैयाँ लाग्ने र त्यसका निम्ति सरकार स्वयंले तदारुकता देखाउनुपर्ने कर्मचारी बताउँछन् ।

गोबरबाट उत्पादित ग्यासलाई बेलुनमा राखेर अटोमेटिक प्रेस मेसिनबाट चौबिसै घण्टा उपभोक्ताको घरमा ग्यास पु¥याउने काम करिव तीन वर्षसम्म मात्र भयो । त्यसयता भने गोबरग्यास उपभोक्तासम्म नपु¥याई बाहिरै फाल्नुपर्ने अवस्था आएपछि ग्यासबाट आउने आम्दानी पनि ठप्प भएको छ । जसकारण त्यहाँ कार्यरत कामदारलाई तलव दिनै नसक्ने अवस्थामा गौसेवा सदन पुगेको छ ।

संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, विश्व बैंक तथा जलवायु लगानी कोषको सहयोगमा सञ्चालित नवीकरणीय उर्जा बिस्तार आयोजनाको एक करोड ११ लाख, श्रीकृष्ण गौसेवा सदनको २७ लाख र विराटनगर महानगरपालिकाको १२ लाख गरी कुल डेढ करोडको संयुक्त लगानीमा उक्त पलान्ट निर्माण गरिएको थियो । तर अहिले फुटेको पाइपलाइन बनाउन सरोकारवालाले तदारुकता नदेखाउँदा करौडौंको लगानी बालुवामा पानी भएको छ ।।