Breaking

जापान जाने होसियार ! कन्सल्टेन्सीदेखि बैंकसम्मै छन् ठग, प्रहरीलाई यसरी मिल्यो सफलता


काठमाडौँ – जापान पठाइदिने प्रलोभनमा २ सयभन्दा बढी व्यक्तिलाई ठगी गर्ने दुई जना गिरोहलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । अर्काे व्यक्तिको नागरिकता दुरुपयोग गरी २ करोड ६८ लाखरुपैयाँ ठगी गरेको आरोपमा उनीहरु प्रक्राउ परेकाहुन् ।

जापान पठाइदिने प्रलोभनमा २ सयभन्दा बढी व्यक्तिलाई ठगी गर्ने गिरोहका दुई जनालाई पक्राउ गरी प्रहरीलेसार्वजनिक गरेको छ । ३५ वर्षका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने वर्ष ४६ का ईश्वरी पाण्डेलाईपक्राउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । उनीहरु पुतलीसडकमा रहेको नियोनी एजुकेसन कन्सल्टेन्सीका सञ्चालक र कर्मचारी हुन् । उनीहरुले अर्कैको नागरिकता दुरुपयोग गरेर सो कन्सल्टेन्सी सञ्चालन गर्दै आएको पाइएको छ । जापानिज् भाषा बिनानै सहज रुपमा जापान जानसकिने प्रलोभन देखाएर ठगी गर्दै आएका उनीहरुमाथि केही व्यक्तिले ठगिएको आशंकासहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेर जाहेरी दिएका थिए। उजुरी पछि प्रहरीले यस घटनामा अनुसन्धान अघि बढाएको थियो । पीडितहरूले दुई व्यक्तिको नाममा दुई बैंकमा रकम जम्मा गरेका थिए। नारायणबहादुर राई र अर्का पर्वराज पाण्डेको नाममा बैंक खातामा पैसा जम्मा गर्ने गरिएको थियो।राईको नाममा सानिमा बैंकमा र पाण्डेको नाममा कामना विकास बैंकमा खाता थियो। वैदेशिक रोजगार विभागमा उनीहरूविरूद्ध थुप्रै उजुरी परेका थिए। उनीहरूविरूद्ध २ करोड ६८ लाख रुपैयाँ ठगी गरेको भन्दै एक सय जनाले उजुरी दिएका थिए।उजुरी परेपछि विभागले बाजुराका पर्वराज पाण्डेलाई पक्राउ गरेको हो ।

विभागले उनलाई पक्राउ गरी एक दिन हिरासतमा राखेपछिठगी गर्ने पर्वराज भन्ने व्यक्ति उनी नभएको खुलेपछि प्रहरीले छाडेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षकद्वय रोशन खड्का र गोविन्द पन्थीको टोलीले यस घटनामा अनुसन्धान गरेका थिए। अनुसन्धानका क्रममा राई र पर्वराज दुवैको नागरिकता कुनै समय हराएको भन्ने खुलेको थियो । राईले १५÷१६ वर्ष अघि नै नागरिकता हराएर प्रतिलिपि लिएका थिए । पर्वराजको पनि केही वर्षअघि नै नागरिकता हराएको खुलेको थियो ।

त्यसपछि प्रहरीले प्राविधिक अनुसन्धान अघि बढाएको थियो । नारायणबहादुर भनिएका व्यक्ति रामेछापका राजन श्रेष्ठ र पर्वराज भनिएका व्यक्ति झापाका ईश्वरी पाण्डे रहेको प्रहरी अनुसन्धानबाट खुल्यो । नारायणबहादुर र पर्वराजको हराएको नागरिकता उनीहरूले फेला पारेका थिए।जसबाट उनीहरूले बैंकमा खाता र कन्सल्टेन्सी खोलेका थिए। नागरिकतामा भएको फोटो निकालेर आफ्नो टाँस्दै दुरूपयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।उनीहरूबाट प्रहरीले विभिन्न व्यक्तिहरूको पासपोर्ट, चेक बुक लगायत कागजात बरामद गरेकोे उपत्यका अनुसन्धान कार्यालयका प्रमुख रहेका एसएसपी सानुराम भट्टराईले बताए ।

पीडितले भनेका व्यक्ति र तथ्यांकमा देखिएका नारायणबहादुर भनिने व्यक्ति पठाओ चालकरहेको पाइएको प्रहरीको भनाई छ । पठाओ मोटरसाइकल चलाउन थालेको ३ वर्ष भएको र यसैबाट गुजारा गरिरहेको उनले जवाफ दिएका थिए। आफ्नो नाममा कुनै पनि कम्पनी नरहेकोसमेत उनले बताएपछि प्रहरी अनुसन्धान मोडिएको थियो । पीडितसँग मोबाइल नम्बर मागेर अनुसन्धान गर्दा दुवै व्यक्ति अर्कै रहेको पाइएको एसएसपी भट्टराईले बताए । नारायणबहादुर राई बनेर ठग्ने व्यक्ति रामेछापको लिखु तामाकोसी गाउँपालिका ७ का राजन श्रेष्ठ हुन्।

हाल काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका ७ बस्ने ३५ वर्षका श्रेष्ठले उदयपुरका नारायणबहादुर राईको नागरिकता भेटेर दुरुपयोग गरेको खुलेको हो। नारायणबहादुरकै नाममा कम्पनी दर्ता गरेको र बैंक खाता पनि त्यही नागरिकताका आधारमा खोलेर ठगी गरेको खुलेको छ।राजन सञ्चालक रहेको कन्सल्टेन्सीकै कर्मचारी ईश्वरी पाण्डेले पनि पर्वराज पाण्डेको नागरिकता दुरुपयोग गरेर ठगी गरेको खुलेको छ।झापाको गौरादह नगरपालिका १ घर भई ललितपुरको भैँसेपाटी बस्ने ४६ वर्षका ईश्वरी पाण्डेले पर्वराजको नाममा बैंक खाता खोलेर ठगी गरेको प्रहरीको भनाइ छ।

उनीहरुले दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको छ । सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख रुपैयाँ लिएको खुलेको छ । साथै वैदेशिक रोजगार विभागमा अन्य करिब १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख भट्टराईलेजानकारी दिए । उनीहरुलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।