Breaking

तेस्रो खेलमा पनि वेस्टइन्डिजले नेपाललाई २८ रनले हरायो, हारसँगै नेपालले सिरिज गुमायो


काठमाडौँ— वेस्टइन्डिज ‘ए’ले चौथो टी २० खेलमा घरेलु टोली नेपाललाई २८ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ ।

पाँच खेलको सिरिजमा वेस्टइन्डिज ३–१ ले अघि छ । पहिलो खेल हारे पनि त्यसपछि लगातार तीन खेलमा जितका साथ सिरिज जितेको हो ।

११० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १८१ रनमा अल आउट भएको छ । नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८२ रन बनाए पनि जित्नलाई पर्याप्त भएन ।

रोहितले पहिलो खेलमा ११२, दोस्रो खेलमा ७१ रन र तेस्रो खेलमा विश्राम गरेका थिए । रोहित बाहेक आजको खेलमा पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

स्पिनर हेडन वाल्स जुनियरको १४औं ओभरको तेस्रो बलमा रोहित लङअफमा म्याथ्यु फर्डबाट क्याच आउट भएपछि शतकको अवसर गुमाएका थिए ।

ओपनर आसिफ शेख शून्य र कुशल भुर्तेल १ रनमा आउट भएका थिए । कुशल मल्ल ४, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुलशन झा १९–१९ रनमा आउट भए ।
अभिनाश बोहरा ८ बलमा २ चौका र १ छक्कासहित १७ र सोमपाल कामी १० रनमा आउट भए ।

वेस्टइन्डिजका स्पिनर हेडन वाल्स जुनियरले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । म्याथ्यु फर्डले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । फबिएन एलेनले २ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनाएको थियो । वेस्टइन्डिजले लगातार चौथो खेलमा टस जितेर ब्याटिङ रोजेको थियो ।

शीर्षक्रमका ब्याटर आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८४ रन बनाए । फबिएन एलेन १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा नट आउट रहे । ओपनर जोनसन चाल्र्स ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रनमा आउट भएका थिए ।

ओपनर एलिक एथानाजेलाई प्रतिश जिसीले ५ रनमा आउट गरेका थिए । त्यसपछि जोनसन चार्ल्स र आन्द्रे फ्लेचरले ९२ रनको साझेदारी गरेका थिए । केसी कार्टी भने १० बलमा ४ रन बनाएर आउट भएका थिए ।

नेपालका तीव्र गतिका बलर प्रतिश जिसीले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपाल १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो । पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ ।