Breaking

३३ वर्षमा सदन छिरेका सुहाङ, यस्ता छन् विगत, इलामबाट उदाएको भविष्य (भिडियोसहित)


काठमाडौँ – पहिचावादीको बाहुल्यता रहेको इलाम २ मा पहिचान विरोधीको ट्याग लागेका पार्टीकै नेता सुहाङ नेम्वाङ उपनिर्वाचनबाट सदनमा प्रवेश गरेका छन् । परिस्थितिले राजनीतिमा आउनु परेको बताउने ३३ वर्षका सुहाङ को हुन् त?

दुई पटक संविधान सभा अध्यक्ष भएका दिवंगत नेता सुवासचन्द नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङ इलाम २ बाट संसद् छिर्न सफल भएका छन् । संयोग नै मात्र सकिन्छ बुवाले एक सय १४ मतले पराजित गरेकै प्रतिद्वन्द्वी डम्बर खड्कालाई सुहाङले पाँच हजार ८३० मतको भारी मतान्तरले पराजित गर्दै संसदको यात्रा तय गरेकाछन् । अब सुहाङको परिचयको अगाडी माननीय प्रतिनिधि सभा सदस्य थपिने छ ।

३३ वर्षीय सुहाङ एमालेका सबैभन्दा कान्छा सांसद बनेकाछन् ।
सुहाङको पूख्र्यौली थातथलो इलामको सुन्तलाबारी भए पनि काठमाडौंको परिवेशमा उनी हुर्किए । राजधानीमा नै रहेको ग्यालेक्सी पब्लिक स्कुलबाट निम्नमाध्यमिक तह पुरा गरेका उनले माध्यमिक शिक्षा भने लोयल्टी विद्यालयबाट पुरा गरे ।

सुहाङले ज्ञानोदय बालबाटिकाबाट उच्च शिक्षा हासिल गरे । कानुनसँगको साईनो अटुट रहेको नेम्वाङ परिवारको सुहाङसहित नेम्वाङ तीन पुस्ता जोडिएको छ । हजुरबुबा रामबहादुर नेम्वाङ इलाम जिल्ला अदालतका न्यायाधीश र बुबा सुवास पनि कानुनी विद्यार्थीसँगै विज्ञ पनि भएको हुँदा सुहाङको रुचि कानुनतिर नै आकर्षित भयो । उच्च शिक्षापछि कानुनी शिक्षा सुरु गरेका उनले काठमाडौं स्कुल अफ ल मा बिएएलएलको शिक्षा सम्पन्न गरेसँगै अधिवक्ताको बाटो खुल्ला भएपछि उनी स्नाकोत्तर अध्यन पुरा गर्न अष्टे«ेलिया पुगे । अहिलेसम्म अविवाहित सुहाङले इलामेली जनताले देखाएको माया र ममताको कहिल्यै अवमूल्यन हुन नदिने प्रतिबद्धतासहित आफूलाई मत दिएका जनताको शिर उच्चो हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेकाछन् ।

बाल्यकालबाटै कम्युनिष्ट पृष्ठभूमिमा हुर्किएका उनले २०६८ सालमा मात्रै नेकपा एमालेको सदस्यता लिएका हुन् । सदस्यता लिए पनि खास्सै राष्ट्रिय राजनीतिमा सक्रिय नरहेका उनले गत आम निर्वाचनमार्फत राजनीतिलाई नजिकबाट नियाल्ने अवसर पाए । बुबाको सहयात्री भएर इलामको डाँडापाँखा डुलेका उनले चुनावको रापताप बुझ्ने मौकासमेत पाएका थिए । तर, राजनीतिक र कानुनी ज्ञानको भोक उत्कर्षमा पुगेका बेला अचानक बुवाले छोडेर जाँदा ‘टुहुरो’ महसुस गरेका उनको संसदीय राजनीतिको प्रस्थानविन्दु यही उपनिर्वाचन बत्र पुगेको छ ।

शिक्षाले कालाकोटे भए पनि परिस्थितिले नेता बत्र पुगेको बताउने उनको खेलमा पनि लगाव छ । उनले आफै नेतृत्व गरेर फुटबल क्लब सञ्चालन गरेका छन् । बुवाकै पथ पछ्याउँदै कानुनी अभ्यासमा पैंताला सोझ्याएका उनीमाथि अब दशकौंदेखि बाबुले बचाईराखेको विरासतलाई काँधमा लिएर लिड्नु पर्ने जिम्मेवारी आएको छ । पहिचावादले उग्र बनेको इलाममा कोही कसैलाई एक वचन कटुतापूर्ण वाक्य नबोली सम्यमता देखाउँदै प्रतिनिधिसभामा इन्ट्रीमारेका सुहाङले पार्टीलाई लागेको पहिचानविरोधीको ट्यागसँगै केन्द्र र इलामेलीको बिग्रिएको सम्बन्धमा सुधार ल्याउँने पर्ने चुनौतीको सामना गर्नु पर्ने देखिन्छ ।