Breaking

उम्मेदवारको अश्लील भिडियोले मोदी तनावमा, राहुलले मुद्दा पाए, भाजपालाई धक्का


काठमाडौँ – भारतको कर्णाटकको हासन सिटबाट सांसद र चुनावमा भाजपाको सहयोगी दल जेडीएसका उम्मेदवार प्रज्ज्वल रेवन्नाको यौन काण्डको भिडियो सार्वजनिक भएको छ । यौन भिडियोलाई लिएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पनि यतिबेला आलोचना भइरहेको छ ।

यतिबेला भारतमा लोकसभा चुनावी सर्गमी छ । चुनावमा होमिएका दल र उम्मेदवारहरु प्रचारप्रसारमा तीव्ररुपमा लागिरहेका छन् । पक्ष र विपक्षका नेताहरु आफ्नो नीति र एजेण्डामाभन्दा एकअर्काप्रति लानछाना लगाउँदै भोट रिजाउने रणनीतिमा छन् । यसैबीच चुनावकै बीच सत्तारुढ दल भारतीय जनता पार्टीसँग गठबन्धन गरेको दलका एक नेताको अश्लील भिडियो सार्वजनिक हुँदा भाजपालाई धक्का लागेको छ । भारतको कर्णाटकको हासन सिटबाट सांसद रहेका जनता दल सेक्युलर (जेडीएस)का उम्मेदवार प्रज्ज्वल रेवन्नाको यौन काण्डको भिडियो सार्वजनिक भएको हो ।

यसले अहिले भारतीय मिडिया तातिएको छ । यौन काण्डको भिडियोलाई लिएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पनि यतिबेला आलोचना भइरहेको छ । कर्नाटकको हासनबाट सांसद बनिसकेका अहिलेका उम्मेदवार तथा पूर्वप्रधानमन्त्री एचडी देवेगौडाका नाति प्रज्ज्वल रेबन्नाको यौन भिडियो सार्वजनिक भएको हो । रेबन्ना अहिले जर्मनीतिर भागेको भन्दै विपक्षीले सरकारको आलोचना गरेका छन् । विपक्षी कांग्रेसकी महासचिव प्रियंका गान्धीले सरकारले यस्तो अपराध गर्नेलाई भागेर विदेश जान दिएको भन्दै सोमबार आयोजित एक सभामार्फत कडा आलोचना गरेकी छन् । यौन काण्डमा मुछिएका व्यक्तिसँग चुनाव प्रचारका क्रममा केही साताअघि प्रधानमन्त्री मोदी सँगै बसेका कारण उनको नाम पनि अहिले जोडिएको हो ।

रेबन्नामाथि यौन उत्पीडन, सयौं यौन भिडियो रेकर्ड गर्ने, धम्क्याउने र षडयन्त्र गर्ने काम गरेको आरोप छ । कयौँ भिडियो सार्वजनिक भएपछि अहिले उनी जर्मनीतर्फ भागेको भारतीय सञ्चारमाध्यमको दाबी छ । उनी पूर्वप्रधानमन्त्री एचडी देवेगौडाका नाति हुन् । उनका पिता कर्णाटकमा विधायक छन् भने काका पूर्वमुख्यमन्त्री एचडी कुमारास्वामी हुन् । कर्नाटक सरकारले यो मामिलामा छानबिनका लागि समिति गठन गरेको छ । कांग्रेसका प्रवक्ता सुप्रिया श्रीनेतले एक पत्रकार सम्मेलनमा प्रज्ज्वलसँगको सम्बन्धलाई लिएर प्रधानमन्त्री मोदीप्रति निसाना साँधेकी छन् ।

यो विषयमा भने प्रज्ज्वल र उनका नजिकका व्यक्तिले सो भिडियो ‘एडिटेड र फेक’ भएको दाबी गर्दैै आएका छन् । भिडियोबारेमा सार्वजनिक रूपमा सन् २०२३ जुनमा चर्चा भएको थियो । त्यतिबेला प्रज्ज्वल ८६ मिडिया संस्था र तीन व्यक्तिविरुद्ध भिडियो प्रकाशन वा प्रसारण रोक लगाउन आग्रह गर्दै अदालत गएका थिए । उनले त्यतिबेला भिडियो फेक र एडिटेड भएको जनाएका थिए । चुनावकोबीचमा सार्वजनिक यौन काण्ड र त्यसमा प्रधानमन्त्री मोदीको नाम जोडेर भइरहेको प्रचारले ठूलो धक्का दिने विश्लेषणसमेत भइरहेको छ । यद्यपि, यो मामिलाले कस्तो मोड लिन्छ ? र चुनावमा भाजपाले कस्तो क्षति व्यहोर्नु पर्ने हुन्छ ? त्यो भने अहिले नै भन्न सकिने अवस्था छैन ।।