Breaking

ओलीसँग बद्ला लिदै भीम रावल, एमाले छाडे अवसरै अवसर, राष्ट्रवादी मुद्धा, रोज्ने कुन पार्टी ? (भिडियोसहित)


काठमाडौँ—नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीचको भिडन्त वारपारको अवस्थामा पुगेको छ । चितवनको नारायणी किनारमा भएको पार्टीको १० औँ महाधिवेशनमा अध्यक्ष ओलीसँग पौठेजोरी खेलेका नेता रावल गोदावरीमा सम्पन्न पार्टीको पूर्ण बैठकसम्म पुग्दा घर न घाटको बनेका छन् । अध्यक्ष ओलीको प्रतिशोधमा पिल्सिएका रावलले पार्टीबाटै अलग हुने संकेत गरेका छन् । पार्टीमा पाँच दशक लामो राजनीतिक विरासत बनाएका रावलले साँच्चै एमाले छोड्न लागेका हुन् ? एमाले छाडे रावलको आगामी राजनीतिक कदम के होला ? सबैको चासो बढेको छ ।


चितवनको नारायणी नदी किनारमा सम्पन्न नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग पौठेजोरी खेलेका एमाले नेता भीम रावल गोदावरीमा सम्पन्न पार्टीको पूर्ण बैठकसम्म पुग्दा घर न घाटको अवस्थामा पुगेका छन् । अध्यक्ष ओलीको निषेधको राजनीति र प्रतिशोधको कोपभाजनमा पर्दा रावल पार्टीभित्रै किनाराकृत भएका छन् । एमालेभित्र एकछत्र हुकुमी ओली शासनले राज गरिरहेका बेला ओलीविरुद्ध भिडेका रावललाई ओलीले भित्तामै पु¥याई दिए । ओलीको पेलानले रावल विरक्तिएका छन् । पार्टी भित्रको अन्तर संघर्षले पेलिएका रावलले अहिले एमाले छाड्ने संकेत गरेका छन् ।

तत्कालीन नेकपाभित्र ओली र माधवकुमार नेपालको भिड्न्तमा माधवलाई साथ दिए पनि पछि माधवले पार्टी नै फुटाएपछि माधवपट्टि नलागी १० भाइ र १० बुँदाको बलमा ओली कित्तामा फर्किएका रावल अहिले आफैँ पार्टी फेर्ने परिस्थितिमा पुगेको देखिन्छ । विगतमा अध्यक्षको प्रतिस्पर्धाबाट पराजित भएपछि सम्मानित वा वरिष्ठ पद दिने चलन भए पनि १० औँ महाविधेशनमा ओलीलाई चुनौती दिएकै कारण रावललाई विस्थापित गर्न योजनाबद्ध ढंगले गुमनाम बनाइयो । ओलीको प्रतिशोधमा परेका रावल ओलीकै खरो आलोचक भएपछि पार्टीभित्र भूमिकाविहीन त बनेनै सँगसँगै उनको राजनीतिक भविष्यमाथि नै संकट आइपरेको छ । ओली कित्ताका केही नेताहरुले भने भीम रावल को हो ? भन्नेसम्मका प्रश्न तेर्साइरहेका छन् । ओली पक्षका नेताहरु पार्टीभित्र रावलको भूमिकालाई लिएर उल्टै प्रश्न तेर्साउँदै चुनौती प्रस्तुत गर्न थालेका छन् ।

सुदूरपश्चिममा एमालेको खम्बा रहेका रावल पार्टीको सबै गतिविधिबाट गलत्याइँदा होस् या चुनावमा टिकट नदिँदा ओलीको आलोचनामा खरो उत्रिए । तर पनि चित्त बुझाएर धैर्य गरेका उनको अहिले भने धैर्यताको बाँध टुटेको देखिन्छ । पाँच दशक पार्टी सिन्चेका रावलले एमाले छोड्ने अवस्थामा पुगेका छन् । राजनीतिक उत्तरार्धमा पुगेका रावल अन्य नेताहरु सरह पार्टी राजनीतिमा निष्क्रिय रहँदै वकालतमा लाग्छन् वा आफैँ छुट्टै पार्टी खोलेर कम्युनिस्ट धारको नेतृत्व गर्छन् ? अहिले नै यसै भन्न नसकिए पनि सबैको चासो बढेको छ । उपप्रधानमन्त्री बनिसकेका रावलका लागि एमालेबाहेक वैकल्पिक दलहरुको आदर्श व्यक्तिको सूचीमा छन् । वैकल्पिक शक्तिहरु रावलको स्वागत गर्न तयार छन् ।

अझ भनाँै उनलाई अफर नै अफर छ । सुदूरपश्चिममा एमालेको खम्बा रहेका रावललाई आफ्नो पार्टीमा स्वागत गर्न सुदूरमा राम्रो जनमत जम्मा गरेका नागरिक उन्मुक्ती पार्टीदेखि रवि लामिछाने नेतृत्वको रास्वपासमेतले ताकेता गरिरहेका छन् । माधवलाई धोका दिएर एमालेमा फर्किए पनि पुनः माधवको पार्टीमा प्रवेश गरेका घनश्याम भुसालदेखि समाजवादी पार्टीका धेरै नेता रावलको स्वागत गर्न तयार मात्र छैन्न तानातानमै छन् । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खडा गरेको समाजवादी मोर्चा पनि रावलका लागि विकल्प बन्न सक्छ । तथापि, रावल के गर्छन् ? प्रतिक्षा गर्नुको विकल्प छैन । एमालेबाट रावलको बर्हिगमन हुनु चाहिँ एमालेका लागि ठूलो क्षति हुने वामपन्थी नेताको टिप्प्णी छ । योसँगै ओलीका कारण समग्र कम्युनिस्ट पार्टीकै दुर्दशा सुरु भएको विश्लेषण हुन थालेको छ ।

पटक पटक एमालेभित्रको अन्तर संघर्षलाई चिर्दै पार्टीमा अटाएका रावल अहिले भने फरक मोडमा पुगेका छन् । उनी स्वयम्ले यसलाई पुष्टि गरिसकेका छन् । जसले ढिलो चाँडो उनी एमालेबाट अलग हुने संकेतलाई थप बल पुगेको छ । एमालेभित्रका अन्य नेताहरुलेसमेत उनको भूमिकालाई लिएर प्रश्न उठाउनु, पार्टी छोड्नेसम्मको संकेत गर्दा पनि उनीसँग सम्वादका लागि नेतृत्व तहले चासो नदिनु, लामो समयदेखि पार्टीको जिम्मेवारीबाट बाहिर रहनुले रावलका लागि एमालेभित्र बसिरहने उपयुक्त वातावरण नरहेको सहजै अनुमान लगाउन सकिन्छ । तसर्थ, उनको आगामी राजनीतिक भविष्य कता तर्फ मोडिन्छ ? त्यो भने निकट भविष्यमै खुल्ने छ ।