Breaking

कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय


काठमाडौँ – जिल्ला अदालत रौतहटले २०६४ साल चैतमा भएको एक घटनामा दोषी ठहर गर्दै नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, उनका भाइ महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए । रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो । उनीहरुले मुलुकी ऐन २०२० अनुसार जन्मकैद अर्थात २० वर्षको सजाय पाएका छन् ।

त्यस्तै मुक्ति साहले सफाइ पाएका छन् भने मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकार फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार ढोडारीले जानकारी दिए ।

पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित अफताब आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा केही व्यक्ति घाइते भएका थिए । त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरुलाई जिउदै इँटाभट्टामा पोलेको आरोप लागेपछि १९ असोज २०७६ मा रौतहट क्षेत्र नं। २ का तत्कालिन सांसदसमेत रहेका आलम पक्राउ परेका थिए ।

ती घाइतेलाई नजिकैको इँट्टाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोप आलम र उनका भाइ महताबसहित अन्यमाथि थियो । उनीहरुविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी कसुर गरी तीन वटा मुद्दा दायर गरिएको थियो ।

थुनछेक बहसपछि जिल्ला अदालत रौतहटले २९ कात्तिक २०७६ मा आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

आलमविरुद्धको यो मुद्दामा विगत तीन दिनदेखि जिल्ला अदालतमा जारी बहस बिहीबार सकिएको थियो । बहसका क्रममा वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिल दयानिधि रिजाल, बद्री कार्की, पुष्पराज पौडेलले बहस गरेका थिए । प्रतिवादी आलमका तर्फबाट नेपाल बारका केन्द्रीय अध्यक्ष गोपालकृष्ण घिमिरे, यदुनाथ खनाल, अजय पटेल, मजरुल हक, सञ्जीव मल्लिक, साबिर हुसैनसहित ९ जनाले बहस गरेका थिए ।