Breaking

कतारका दिलदार राजा, नेपालका नालायक नेता, सरकारलाई सराप्दै श्रमिक, नारायणकाजी र डीपी खोइ ? (भिडियोसहित)


काठमाडौँ— नेपालको वैदेशिक कुटनीतिक सक्रियता जति चाख लाग्दो छ, उपलब्धि लगभग उत्तिकै निराशाजनक छ । चर्चासँगै चासोमा रहेको कतारका राजा अल थानीको दुई दिने नेपाल भ्रमण पनि अन्य उच्चस्तरीय भ्रमण सरह स्वागत र औपचारिकतामै सकिएको छ । अरब मुलुकै पहिलो राष्ट्रध्यक्षस्तरको नेपाल भ्रमणको जति चर्चा थियो उपलब्धि भने उत्तिकै खल्लो रह्यो । कुटनीतिक अभ्यासमा नेतृत्वको आलोकाँचो प्रवृत्तिले निरन्तरता पाउँदा राजा अल थानीको नेपाल भ्रमण उपलब्धि मुलक बन्न सकेन ।
४४ वर्ष लामो कुटनीतिक सम्बन्ध, नेपाली श्रमिकको मुख्य वैदेशिक गन्तव्य कतारका राष्ट्रध्यक्षको पहिलो औपचारिक नेपाल भ्रमणबारे चासो र चर्चा स्वभाविक हुने नै भयो । राजनीतिक एवम् कुटनीतिक हिसाबले कतारका राजा शेख तामिम विन हमाद अल थानीको २२ घण्टे नेपाल बसाईं चर्चाको केन्द्रमा रह्यो । नेपालले गरेको स्वागत होस् या दुईपक्षीय सम्झौता र समझदारीलाई लिएर चर्चा चुलिएकै छ । तर राजा अल थानीको राजकीय दुई दिने नेपाल बसाईं र दुई पक्षीय सम्झौता– समझदारीलाई लिएर जति चर्चा बटुली रहेको छ, समग्र नेपाल र नेपालीका लागि भने कतारी राजाको भ्रमण आशातित उपलब्धि मुलक बन्न सकेन । उच्चस्तरीय भ्रमण र भेटघाटहरु एजेन्डामाभन्दा टालटुले स्वागत र फितलो तयारीका कारण यति ठूलो भ्रमण हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भएको छ । यसको मुख्य कारण नेतृत्वको आलोकाँचो प्रवृत्ति भएको विश्लेषण भइरहेको छ ।

झन्डै पाँच÷छ महिना अगाडि नै कतारी राजा आउने भनेर झ्याली पिटेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार राजा काठमाडाँै ओर्लिन केही घण्टा अगाडि मात्रै हतार हतार सडक टाल्नेदेखि सहर सिंगार्न व्यस्त रह्यो । हतार हतार गरिएको तयारीका बीच पनि कतारका राजाको राम्रो स्वागत त भयो । तर दुई पक्षीय सम्झौता र समझदारीका लागि सरकारको तयारी फितलो रहेको देखियो । मुख्य रुपमा नेपालले नेपाली श्रमिकको एजेन्डालाई उठाउनु पर्नेमा चुकेको छ । जानकारहरुले सरकारको तयारीलाई लिएर पहिल्यै प्रश्न उठाएका थिए ।


भारत, चीन वा अन्य मुलुकबाट हुने उच्चस्तरीय कुटनीतिक भ्रमणमा लम्पसार नै परेका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ खोजी गर्नु पर्ने अवस्थामा प्रस्तुत भए । राजा अल थानी नेपाल आउनु पूर्व कतारमा रहेका नेपाली श्रमिकको विषय उठान गर्ने हल्ला मच्चाएका श्रममन्त्री डीपी अर्याल आफँै नाङगिए । नेपालका लागि कतारी राजदूतसँग भेटवार्ता गरेर यो एजेन्डालाई प्राथमिकता दिने भनिए पनि कुनै पनि सम्झौता र समझदारीमा हस्ताक्षर भएन । विभिन्न ८ वटा सम्झौता र समझदारीमा हस्तक्षर गर्दा सबैभन्दा महत्वपूर्ण र सर्वत्र चासोमा रहेको श्रमिकको मुद्दाबारे सरकारले मुख खोल्न सकेन । १९ वर्ष पुरानो श्रम समझदारीमा श्रमिक पठाई रहेको नेपालले यही विषय मुख्य एजेन्डा बनाउनु पर्ने दवाव सरकारलाई थियो । तर विडम्बना राजाले नेपाली श्रमिकको प्रशंसा भने गर्न भ्याए ।

कतारका राजाले नेपाली श्रमिकको प्रशंसा गरिरहँदा देशको नेतृत्व तहले भने खाडीको ४० डिग्री तापक्रममा पसिना बगाएर देशकै अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको रेमिट्यान्स भित्र्याउने युवाहरुको सवालमा चुइक्क बोल्न सकेन । खाडीमा बसेर कतारी राजाको नेपाल भ्रमण नियाल्दै आशमा बसेका युवामाथि राज्यले नै कुठराघात गरेको छ । नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य कतारमा रहेका आफ्ना नागरिकको हकहितबारे एक शब्द पनि नखर्चिनु आफँैमा लज्जास्पद हो । आफ्ना देशका श्रमिकको एजेन्डालाई राज्यले तिरस्कार नै गरेको छ । उच्चस्तरीय भ्रमणबाट तत्काल निर्णय नै गरेर कार्यान्वयन गर्न सक्ने अवस्था सिर्जना हुँदासमेत सरकार कुटनीतिक कौशलमा चुकेको विश्लेषकको तर्क छ ।


अरब मुलुकै पहिलो राष्ट्रध्यक्षस्तरको नेपाल भ्रमणको जति चर्चा थियो, उपलब्धि भने खल्लो बनेको छ । विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिन पिङले नेपाल भ्रमण गर्दा पनि सरकार आफ्नो एजेन्डा र कुटनीतिमा असफल भएको घटना अझै ताजा छ । यस्ता भ्रमणबाट नेपालले लिन सक्ने फाइदामा चुक्नु रणनीतिक र कुटनीतिक कुशलतामा असफल भएको ठर्हदै गएको छ । साथै, नेपालको फितलो तयारीलाई पनि मुख्य कारण मान्न सकिन्छ । कुटनीतिक अभ्यासमा नेतृत्वको आलोकाँचो प्रवृत्तिले निरन्तरता पाउँदा पनि कतारी राजा अल थानीको नेपाल भ्रमण उपलब्धि मुलक बन्न नसकेको कुटनीतिक विज्ञहरुको मत छ ।