समाचार

बागमतीमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस


काठमाडौँ— बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्यको घोषणा गर्ने व्यवस्था छ ।

प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट निर्माणको तयारीमा छ । त्यसैले हिउँदे अधिवेशन अन्त्य गरेर जेठबाट प्रि–बजेट छलफल सुरु गर्ने तयारी रहेको मन्त्री श्रेष्ठले बताए ।

१५ फागुन २०८० बाट हिउँदे अधिवेशन सुरु भएको थियो ।