Breaking

लोकतन्त्रदेखि कोही छैन सन्तुष्ट, असली अभ्यास कहिले?, नेताले गर्दा उत्कृष्ट व्यवस्था नै बदनाम


काठमाडौँ – तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको सम्झनामा आज १८ औं लोकतन्त्र दिवस मनाइएको छ । लोकतन्त्र आएको डेढ दशकभन्दा बढी समय बितिसके पनि आम जनताले भने अझै त्यसको महसुस गर्न सकेका छैनन् ।

नेपालमा १८ वर्ष अघि आजकै दिन वैशाख ११ गते शासन व्यवस्थाको उत्तम अनि अन्तिम विकल्प लोकतन्त्रको स्थापना भएको थियो । नेपालको इतिहासमा २४० वर्ष लामो समय जरो किलो गाडेको राजसंस्था लाई ०६२र०६३ को आन्दोलन मार्फत जनताले उखेलेका थिए ।जनताको तागतबाट घुडा टेकाएको ऐतिहासिक क्षणको रुपमा नेपालीले आजको दिनलाई सम्झिने गरेकाछन् ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ मा विघटन गरेको संसद् आन्दोलनरत दलको माग बमोजिम २०६३ वैशाख ११ गते उनैले पुनःस्थापना गर्दै जनताको नासो जनतालाई नै फिर्ता गरेका थिए । शासन सत्ता एकलौटी बनाएको ज्ञानेन्द्रविरुद्ध आन्दोलनरत सात दल र युद्धरत माओवादीको नेतृत्वमा राजधानीमा उर्लिएको मानवसागर सुनामीले ल्याइएको परिणामत सुन्दर शासन व्यवस्थाको निर्माण भएको हो । तर, १९ दिनमा डेढ दर्जनले सहादत प्राप्त गरेर ल्याइएको लोकतन्त्र अपेक्षाकृत भने हुन सकेको छैन । जनतालाई देखाइको सपनामा तिनै नेताले पानी खन्याई दिएका छन् । सुशासनको रटान लगाउने लोकतन्त्रमा झन् भ्रष्टाचारको पहाड ठडिएको छ । न्यायालयबाट दिने न्यायमाथि नागरिकको भरोसा उडेको छ । आधारभूत आवश्यकतामा पर्ने शिक्षा,स्वास्थ्य जस्ता क्षेत्रमा सामान्य नेपालीको पहुँच नपुग्दा त्यसबाट वञ्जित हुन परेको छ । राजाको एकलौल्टी शासन फाल्न आन्दोलन गर्नेहरू नै अहिलेको यो लोकतन्त्रबाट सन्तुष्ट हुन सकेका छैनन् ।

ठूलो संघर्षले शताब्दी औं देखि चल्दै आएको व्यवस्थालाई परिवर्तन गरे पनि आम जनताले भने त्यसको प्रत्यक्ष महसुस गर्न सकेका छैनन् । केही निश्चित व्यक्तिहरुलाई मात्रै छोएको लोकतन्त्रले अधिकांश नेपालीहरूको जिवनमा भने अझै पनि खास्सै परिवर्तन ल्याएको छैन । लोकतन्त्र टाठाबाठाका लागि कर्म गरि खाने ठूलो सुनौली बाख्रो बनेको छ ।

लोकतन्त्रको अभ्यास जुन तवरले हुन पर्ने त्यो अनुरुप भएको छैन । डेढ दशकभन्दा बढी समयलाई नियाँल्दा त्यत्ति सुखद देखिदैन । आफू सत्तामा हुँदा त्यही कुरा सही देख्नेले सत्ता बाहिर पुगे पछि त्यसैलाई गलत देख्ने पारिपाटी बसेको छ । नेताहरुको ध्यान नागरिकको समस्यामा भन्दा पनि सत्तामा टिकिरहन उद्यत देखिदा लोकतन्त्रको असली अभ्यास हुन सकेको छैन । फलतः विधिको शासनले जनतालाई आफ्नो पक्षमा बनाउनु पर्नेमा हत्केलामा राखेर हिडेका छन् । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु पर्ने सरकार भएकै कल कारखानाहरु पनि बन्द हुँदै जाँदा कानमा तेल हालेर बसेको छ । विदेशमा पढेको सीप,इलम स्वदेशमा सदुपयोग गर्न खोज्दा कानुन नै बन्दैन र दर्ता प्रक्रियालाई अड्चन देखाई विदेश पलायन हुन बाध्य गराउँछन् । पछिल्लो राजनीतिक परिवर्तनको १७ वर्ष पुग्दा पनि हालसालैका यस्ता घटना क्रमले जनतामा निराशा र सरकारप्रतिको गुनासो व्याप्त छ ।

ठूलो आश देखाएको लोकतन्त्रमा पनि अपेक्षा पूरा नहुँदा आम जनतासँगै राजनीतिक दलका नेता र विश्लेषक सबैमा निराशा कायम छ । सरकार गठन र विघटनका श्रृंखला तथा भ्रष्टाचारका काण्डले जनतामा शासन व्यवस्थाप्रति बेला बेला असन्तुष्टि सुनिने गरेको छ । जनतामा देखिएका असन्तुसष्टिलाई बेलैमा सम्बोधन गरेर लोकतन्त्रको पारिलो घाम ताप्ने अवसर सबैलाई प्रदान गर्न सकिएको सन्दर्भमा लोकतन्त्र दिवस खास अर्थमा सार्थक बन्न सक्छ ।