Breaking

बागलुङमा ३८ वनमा आगलागी, हावाहुरीले नियन्त्रणमा ल्याउनै धौधौ


काठमाडौँ – बागलुङमा फागुनयता मात्रै ३८ वटा वनमा आगलागी भएको छ । जसमध्ये १५ वनको अझै नियन्त्रण बाहिर रहेको डिभिजन वन कार्यालय बागलुङले जानकारी दिएको छ ।

बागलुङमा पहिलो पटक फागुन ९ गते बरेङ गाउँपालिका २ को सल्लेरी सामुदायिक वनमा भीषण आगलागी भएको थियो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा बल्लतल्ल नियन्त्रणमा आएको थियो । सल्लेरी सामुदायिक वनमा आगलागी हुनुभन्दा अघि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन ।

त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगो सल्कियो । एक सातापछि उक्त आगो नियन्त्रणमा आयो । त्यसलगत्तै ताराखोला, ढोरपाटन र निसीखोला गाउँपालिकाको दुई दर्जन बढी वनमा आगलागी भइसकेको छ । दिनप्रति दिन आगलागी हुँदै गएपछि थुप्रै वन जंगल रित्तिएका छन् ।

आगलागीले वन्यजन्तु पनि तितरवितर बनेका छन् । आगलागीका कारण हालसम्म मानवीय क्षति भने भएको छैन । करिब एक दर्जन गोठ र पशुचौपाया जलेको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीले जानकारी दिइन् ।

केसीका अनुसार निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा लागेको आगो अहिले पनि नियन्त्रण बाहिर छ । आगो नियन्त्रणका लागि कर्मचारीसहित स्थानीय खटिएको उनको भनाइ छ । उनका अनुसार हालसम्म १ हजार दुई सय हेक्टरभन्दा बढी जंगलमा आगलागी भएको छ ।

‘नागरिकको लापरबाहीका कारण धेरै वनमा आगलागी भएको हो, आगलागी हुनबाट रोक्नका लागि हामीहरुले जनचेतनामूलक कार्यक्रम गर्ने र नागरिकलाई सचेत बनाउनका लागि विभिन्न सञ्चारमाध्यमबाट सूचना प्रवाह गरिरहेका छौँ’, केसीले भनिन्, ‘वनमा आगो लगाउने केही व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया पनि अगाडि बढाएका छौँ, आगोले ठूलो क्षेत्रफलमा फैलिएको वनमा क्षति पुर्‍याएको छ ।’

४ दिनदेखि निसीखोला गाउँपालिका–२ मा लागेको आगो अहिले नियन्त्रणमा लिन सकिएको छैन । उपल्लोबेंग्रीदेखि सुरु भएको आगो वडा नं ४ को माझापाख हुँदै बडाचौरको बराह सामुदायिक वनमा फैलिएको छ । हावाहुरीका कारण आगो अझै नियन्त्रणमा ल्याउन नसकेको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए ।

आगो नियन्त्रणका लागि गाउँले नै लागे पनि असफल भएको उनको भनाइ छ । वडा न २ को शान्ति सामुदायिक वनबाट सुरु भएको आगो धेरै ठूलो क्षेत्रफल फैलिएको अध्यक्ष पौडेल बताउँछन् । लामो समय खडेरी भएका कारण वनजंगल सुख्खा बन्दा आगलागी नियन्त्रणमा ल्याउन नसकिएको उनको भनाइ छ ।

‘आगो कसले लगाएको हो भन्ने पत्ता लागेको छैन, वर्षा पनि भएको छैन, माटो पनि बल्छ’, अध्यक्ष पौडेलले भने, ‘सयौँको संख्यामा मान्छे छन्, दिउँसोमा हावाहुरीले गर्दा निभाउन सकिँदैन, राति १ बजेसम्म जनता उठेर नियन्त्रण लिने कोसिस गरे पनि अझै सकिएको छैन ।’

आगो नियन्त्रणका लागि गाउँगाउँबाट ठूलो संख्यामा स्थानीय वनमा पुगे पनि हावाहुरीले गर्दा नियन्त्रण गर्न नसकेको स्थानीय रामबहादुर घर्तीले बताए । शुक्रबार साँझदेखिनै आफूहरु सुरक्षित भएर स्याउलाका भरमा आगो निभाउने प्रयास गरेको उनको भनाइ छ । सडकभन्दा निकै टाढाको वनमा आगलागी हुँदा दमकलको प्रयोगसमेत गर्न नसकिएको उनले बताए ।