Breaking

गर्मी र प्रदूषणले हैरानी, पाँच दिन जोखिम, जोगिन यस्ता छन् चिकित्सकका टिप्स


काठमाडौँ – यतिबेला देशैभर गर्मी बढेको छ । वैशाखको पारिोलो घामले राजधानी लगायत देशैभरको जनजीवन प्रभावित बनेको छ । तराईको जिल्लासँगै पहाडी जिल्लाहरुमा पनि गर्मी ह्वातै बढेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी ग¥यो । दुई दिनसम्म ४० डिग्रीभन्दा सेल्सीयस भन्दा बढी तापक्रम मापन भएपछि मात्र जारी हुने यस्तो बुलेटिन तातो हवाको लहरसँग सम्बन्धित थियो । शनिबार भैरहवामा यस वर्षकै उच्च ४३.६ डिग्री सेल्सीयस तापक्रम मापनपछि तत्काल सतर्ककता अपनाउनु पर्ने श्रेणीमा तराई जिल्ला पर्दा महाशाखाले पाँच दिनको बुलेटिन जारी गरेको हो । महाशाखाले जनाएको अनुसार मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा उच्च तापक्रम रहेको हुँदा अझै चारदिनसम्म रहने छ ।

दुई दिन अघिसम्म सामान्य रहेको देशको मौसमी तापक्रम त्यसपछि भने अचाक्ली बढ्न थालेपछि गर्मीले देशको तराई क्षेत्रलगायत पहाडी र राजधानीवासीकै पनि जनजीवन प्रभावित बन्दै गएको छ । काठमाडौंमा ३६.६ डिग्री सेल्सीयससम्मको तापक्रम मापन गरिएको कीर्तिमान भए पनि वर्षको सुरुवाती दिनमा नै ३३.५ सम्म पुगेको छ । जसका कारण विद्यार्थी, कर्मचारीदेखि सर्वसाधारणहरूलाई दिउँसो घर बाहिर निस्कनसमेत मुश्किल पर्न थालेको छ । केही दिन अझै पानी पर्ने सम्भावना नहुँदा गर्मी बढ्ने मौसमविद्को भनाई छ ।

एकातिर गर्मी बढेर जनजीवन प्रभावित भईरहँदा अर्कातर्फ सोमबार नै काठमाडौं विश्वको पहिलो प्रदूषित सहरमा सूचीकृत भएको छ । दिन दिनै बढ्दै गएको अत्याधिक तापमानसँगै बढेको वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा पनि असर परेको छ । वातावरण प्रदूषणका कारण मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन समस्याहरु देखिने चिकित्सकहरु बताउँछन् । गर्मीसँगै वायुप्रदूषण पनि ह्वात्तै बढ्दा त्यसको प्रभाव बालबालिकादेखि हरेक उमेर समूहमा देखिएको चिकित्सक पशुराम घिमिरे बताउँछन् ।

बालबालिकामा हुने घमौरा श्वासप्रश्वासमा समस्या, आँखा, नाक र घाँटीको जलन तथा छालासँग सम्बन्धित समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको उनी बताउँछन् । गर्मीको बेला शरीरमा पानीको अभाव हुँदा स्वास्थ्य समस्या देखिने र डिहाइड्रेशन समेत हुनसक्ने भएकाले पानीसँगै प्रशस्त पानी पाइने फलफूल खर्बुजा, मेवा, जस्ता फलफूल खान विज्ञको सुझाव छ ।

नेपालको इतिहासमा २०५२ साल असार २ गते धनगढीमा सबैभन्दा बढी ४६.४ डिग्री सेल्सीयस तापक्रम मापन हुँदा त्यसको २९ वर्षपछि वर्षको सुरुवातमा नै ४३.६ पुगिसकेको छ । दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने तातो हावाले जनजीवन अस्तव्यस्त बन्दा ‘लु’ लाग्ने जोखिम पनि उत्तिकै छ । चार वर्षअघिसम्म प्राय शून्य नै रहेको डेङ्गुले प्रत्येक वर्ष त्रास बढाउँदै लगेको छ । गर्मीकै समयमा हुने डेङ्गुका कारण यस वर्षको सुरुमा नै अस्पतालमा भर्ना गर्नु पर्ने बिरामी बढ्न थालेका छन् । त्यसैले यस्ता असरबाट बच्न सबैले सतर्कता अपनाउन जरुरी छ ।