Breaking

वाम एकताको प्रयास छोड्नु हुँदैन : प्रचण्ड


काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुको एकताका लागि प्रयास जारी राख्नुपर्ने बताएका छन् ।

नेकपाका संस्थापक नरबहादुर कर्माचार्य प्रतिष्ठानले सोमबार ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

विगतमा चुनाव मिलेर लडेको र पार्टी एकता गरेको तर बचाउन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘०७४ को चुनावमा जे प्रयोग हामीले गर्यौँ । त्यो एकताको प्रयोग थियो र त्यसलाई जनता र आम नेता, कार्यकर्ताले अनुमोदन गरेको पनि हो । विभिन्न कारणले त्यसलाई बचाउन सकेनौँ । तर एकपटक असम्भव भयो भन्दैमा सही कामको निम्ति हामीले प्रयासलाई छोड्न हुँदैन । हामी निरन्तर प्रयास गरी नै राख्नुपर्छ ।’

राष्ट्रिय स्वाधिनताको विषय, त्यसको सुदृढीकरण, लोकतन्त्रको सुदृढीकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नभएको भन्दै उनले त्यसका लागि सबै कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने धारणा राखे । ‘समाजवाद नै अबको क्रान्तिको बाटो हो । कुनै न कुनै रुपले सहकार्य र कुनै न कुनै रुपले एकतामा जान आवश्यक छ,’ उनले भने ।