Breaking

सोलुखुम्बुको घ्याङखर्कमा चौरी महोत्सव सुरू

नेपालको इतिहासमै पहिलोपटक याक भलिबल कप हुँदै


काठमाडौँ – सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका-५ घ्याङखर्कमा सोमबारदेखि प्रथम चौरी महोत्सव सुरू भएको छ ।
हिमाली जिल्लामा बसोबास गर्ने शेर्पा समुदायको पुख्यौली पेशा र हिमालको गहनाको रूपमा परिचित याक तथा चौरी व्यवसायलाई जीवन्त राख्नको उद्देश्यले “याक बचाउँ, हिमाल जोगाउँ” भन्ने मूल नाराका साथ कोशी प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोग र घ्याङखर्क चौरी फर्मको सह-आयोजनामा याक तथा चौरी व्यवसाय संघले पहिलोपटक महोत्सव आयोजना गरेको हो ।

अस्तित्व संकटको अवस्थामा रहेको चौरी व्यवसायलाई पुनर्जागृत गर्न र सोलुखुम्बु र खोटाङको सिमानामा समुद्री सतहबाट ३७ सय मिटर उचाइमा अवस्थित घ्याङखर्क पिकमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

दुई दिनसम्म चल्ने महोत्सवमा नेपालको इतिहासमै पहिलोपटक याक भलिबल कप प्रतियोगितासमेत आयोजना गरिएको छ । प्रथम याक भलिबल कप प्रतियोगितामा सोताङ, महाकुलुङ, केपिलासगढी, ऐश्वलुखर्क र थुलुङ दुधकोशी गाउँपालिकाका खेलाडीहरू सहभागी रहेका छन् ।

कोशी प्रदेशसभाका सदस्य गोम्बु शेर्पा ‘कज्र्याङ’ को प्रमुख आतिथ्यमा सम्पन्न हुन गइरहेको घ्याङखर्क चौरी महोत्सवमा कृषक तथा जैविक विविधता संरक्षणकर्ताहरूलाई सम्मान, प्याराग्लाइडिङ उडान, याक ट्रेकिङ ट्रेल उद्घाटन, जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया र सोलुखुम्बु र खोटाङका जनप्रतिनिधिबीच साझा अवधारणा निर्माण गरी चौरी व्यवसाय संरक्षण तथा प्रवद्र्धन गर्नेबारे योजना तर्जुमा गरिने आयोजक संस्थाले जनाएको छ ।

यस्तै, याक प्रजातिअन्तर्गत पर्ने चौरी, ढिम्जु र नाकको प्रदर्शनी गर्ने, जैविक विविधता संरक्षण सम्बन्धि चेतनामुलक कार्यक्रम गर्ने, साँस्कृतिक कार्यक्रम गर्ने तयारी आयोजकको छ ।

याक र चौरीले हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन, जैविक विविधताको संरक्षण सँगै विभिन्न जातजातिको संस्कार संस्कृतिको संरक्षणमा समेत महत्वपूर्ण रहेको छ । याक र चौरीको अस्तित्व संकटमा पर्दा सिंगो हिमाली क्षेत्र अस्तित्व माथि नै प्रश्न चिन्न खाडा हुने देखिन्छ । वार्षिक रूपमा हिमाल आरोहण र हिमाली क्षेत्रबाट करोडौं राजस्व उठाउने सरकारले त्यस क्षेत्रको पहिचानको रूपमा रहेको याक तथा चौरी संरक्षणको लागि कुनै पनि तदरूप्ता देखाएको छैन ।

पर्यटकीय गन्तव्यको रूपमा रहेको घ्याङखर्क क्षेत्रमा विगतमा झैँ वर्तमान युवा पुस्ताले पनि आधुनिक शैलीमा चौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाउन सकेमा घ्याङखर्कको पर्यटन प्रवद्र्धन र विकाससँगै आफ्नै गाउँ ठाउँमा आत्मनिर्भर बन्न सकिने घ्याङखर्क चौरी फर्मका सञ्चालका नुरू शेर्पाले बताउनुभयो । चौरी, याक र हिमाललाई एक अर्काका पर्यायको रूपमा लिइन्छ भने चौरी विनाको हिमाल र हिमाल विनाको चौरी कल्पना गर्न सकिन्न ।