Breaking

रवि र वालेनका प्रचारक डम्बरले खोसे, मिलनलाई धक्का ! आक्रामक डकेन्द्रको प्रचार, सुहाङको ‘बा’ ब्रान्ड


काठमाडौँ – वैशाख १५ गते इलाममा हुने उपनिर्वाचनका लागि स्वतन्त्र र पुराना दलहरू तीव्र प्रचारप्रसारमा लागिपरेका छन् । आसत्र उपनिर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरू कार्यक्रम र भेटघाटमा व्यस्त छन् । गीत सङ्गीतदेखि प्रविधिको प्रयोग गर्दै एआईलाई समेत उम्मेदवारहरूले चुनावी प्रचारप्रसारको माध्यम बनाईरहेका छन् ।

मौनावधिको दुई दिनलाई छोडेर इलामको उपनिर्वाचन आउन अब जम्मा चार दिनमात्र बाकी छ । त्यही छोटो समयलाई सदुपयोग गर्दै उपनिर्वाचनमा होमिएका १२ दल र सात स्वतन्त्रका उम्मेदवारहरू चुनाव प्रसारप्रसारमा खटिरहेका छन् । ईलाम २ को चुनाव प्रचारप्रसारमा पुरातन र आधुनिक दुवै शैलीको समन्वय देखिएको छ । भित्ते लेखनदेखि प्रविधिको उच्चतम प्रयोग गरेर एआईको समेत प्रयोग मार्फत उम्मेदवारहरूले आफुलाई मत दिन अपिल गरिरहेकाछन् ।उम्मेदवारहरू आफ्ना घोषणापत्र, प्रतिबद्धतापत्र, चुनावी चिह्नलगायतका आधिकारिक झण्डासहित भोट मागिरहेका छन् । चुनावी प्रचार प्रसारकै लागि प्रमुख उम्मेदवारहरू चुनावी गीतसहित जनतामाझ उपस्थित हुने गरेछन् ।
ईलाम २ मा स्वतन्त्रबाट उम्मेदवार बनेका डकेन्द्रसिंह थेगिमको प्रचारप्रसार अन्यको तुलनामा निकै पृथक र आक्रमक छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कसाम्पाङ राईको समेत साथ पाएका थेगिमले दुई सन्तान सुनीता र एकदेव लिम्बु गायक भएको फाईदा उठाईरहेका छन् । चुनाव प्रचारप्रसारका लागि निर्वाचन आयोगले प्रतिबन्ध नै गरेको राष्ट्रिय झण्डासहित मुढामा भोट माग्दै चोक चेकमा मिनी कन्सर्ट नै आयोजना गर्ने गरिएको छ। कटुवाल फुक्ने देखि, साङ्गीतिक कार्यक्रम र एआईकै प्रयोग गरेर थेगिम चुनाव प्रचार प्रसारमा लागेकाछन् ।

डकेन्द्रको चुनाव प्रचारप्रसारले इलाममा चहलपहल बनाईरहँदा नेकपा एमालेले पनि आफ्नै शैलीमा प्रचारप्रसारलाई अघि बढाईरहेको छ । स्वर्गीय पीता सुवास नेम्वाङकै लोकप्रियतालाई एमालेका उम्मेदवार सुहाङ नेम्वाङले प्रचारप्रसारको हतियार बनाएका छन् । साथै, आफ्नो आकर्षक व्यक्तित्वका कारण पनि सुहाङको प्रचारमा थप बल पुगेको छ । युवा भएकै कारण पनि युवजमातको नजरमा परेका सुहाङ चुनावी गीत नै बनाएर घर घरमा पुग्ने गरेका छन् । आफ्ना बालाई नै ‘ब्राण्ड’ बनाएका सुहाङले मतदातालाई नै प्रचार प्रसारको माध्यम बनाईरहेका छन् ।

प्रचारप्रसार गर्न उम्मेदवारहरूलाई भोट मागेर मात्रै पनि सुख छैन । नेपाली कांग्रेस, नेकपा एमाले जस्त प्रमुख राजनीतिक दललेको आफ्नो चुनाव चिह्न स्थापित भईरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारलाई आफ्नो चुनाव चिह्न पनि स्थापित गराउनु छ । रास्वपाको चुनाव चिह्न घण्टी हुँदा घण्टी बजाउँदै चुनावको प्रचार गरिरहेको छ । पार्टीका सांसद्देखि चारै मन्त्रीसमेत इलाम २ मा उतारेको रास्वपाले केही रचनात्मक शैलीबाट पनि चुनाव प्रचारप्रसार गरिरहेको छ ।

गत आम निर्वाचनमा पनि एक सय १४ मतको झिनो मतान्तरले पराजित हुन पुगेका नेपाली कांङ्ग्रेसका उम्मेदवार डम्बर खड्का यस पटक प्रचारप्रसारमा कुनै पनि कसर बाँकी नराख्ने मनस्थितिमा छन् । पेशाले निर्माण व्यवसायी रहेका खड्काले अहिलेका चलनचल्तीका सञ्चारमाध्यमलाई आफ्नो चुनावी प्रचारप्रसारको माध्यम बनाएका छन् । ठूला ठूला आमसभासँगै सांस्कृतिक कार्यक्रम र ¥याली निकालेर खड्का चुनावी प्रचारमा छन् । उनले केही संचार माध्यमलाई समेत आफ्नो पक्ष पोषणमा उतारेर बृहत तामझाम देखाएकाछन् ।

अहिले भित्ते लेखन देखि हस्तलेखन हुँदै अहिले चुनाव प्रचारप्रसार डिजिटल माध्यमसम्म आईपुगेको छ । बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भने जस्तो स्वतन्त्र देखि प्रत्येक दलले आफ्नो बलबुताले भ्याएसम्म विभित्र माध्यमबाट प्रचार प्रसारमा गरिरहेका छन् । वर्षको सुरुवातमा नै उपनिर्वाचन हुन लाग्दा क्यालेण्डर वितरणलाई पनि सबै दलले चुनावी प्रचार प्रसारको रुपमा प्रयोग गरिरहेका छन् । सरसर्ती हेर्दा उम्मेदवार दल र तीनका नेताले चुनावी माहोल बनाउन अहिले चुनावमा व्यापक हुने मासु भात र मदिराको लगानीनै कटौती गरेर पुरापुरा प्रचार प्रसारमा लगाएकाछन् । जे होस् इलाममा हुन लागेको उपनिर्वाचनमा आम निर्वाचनमा भएकोभन्दा पनि बढी प्रचारप्रसार देखिएको छ । पञ्चायती समयमा हुने भित्ते लेखनदेखि अहिलेको एआईसम्मलाई प्रयोगमा ल्याएर संसद्को ढोका खोल्ने कसरतमा सबै उम्मेदवार लागि परेका छन् ।