Breaking

‘अटेन्सन सिकर’ शिक्षामन्त्री सुमना ! विगतमा अरुपनि थिए‘स्टन्टबाजी’ मन्त्रीहरु


काठमाडौँ— यतिबेला सामाजिक सञ्जालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फोटोमा उनी पाखुरामा टालेको सेतो सर्ट लगाएर इलाम २ का मतदाताको बीचमा देखिन्छिन ।
यही बैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनमा आफ्ना उम्मेदवारको पक्षमा माहोल खडा गर्न इलाम पुगेकी मन्त्री श्रेष्ठले पाखुरामा च्यातिएको सर्ट सिलाएर लगाएको देखेपछि त्यसमाथि विभिन्न टिप्पणी आइरहेको छ ।
उनका प्रशंसकहरुले उनलाई सादगी मन्त्री भनेर प्रचार गरिरहेका छन् भने उनका बिरोधीहरुले थप अर्को स्टन्टबाजी गरेको भन्दै आलोचना गरिरहेका छन् ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सुमनाको पहिरनको विषयलाई लिएर कटाक्ष गरेका छन् । उनले धुर्मुस सुन्तलीले गर्न नसक्ने नाटक सुमनाले गरेको भन्दै आक्रोस ब्यक्त गरेका छन् ।
आफूतिर अरुको ध्यान कसरी खिच्न सकिन्छ भनेर बेला–बेला यस्ता गतिविधि गर्ने सुमनाले अघिल्लो वर्ष जेठ ३१ गते प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य र प्रविधि समितिको बैठकमा कोट र छोटो मिनिस्कट लगाएर पुगेकी थिइन ।
विभिन्न मिडियाका पत्रकारहरुपनि सहभागी भएको सो बैठकमा उनले धेरैले आफ्नो पहिरन बारे लेखिदिउँन चाहना थियो होला तर एउटा अनलाइनले बाहेक अरुले मतलब गरिदिएनन ।
के गरेर चर्चामा आउन सकिन्छ, कसरी अरुको ध्यान खिच्न सकिन्छ भनेर सस्तो लोकप्रियताको खोजीमा लागेकी उनी कहिलेकाँही संसद भवन र मन्त्रालयमा कलेजको बिद्यार्थीको हुलियामा टिसर्ट पाइन्ट लगाएर पछाडि झोला भिरेर पुग्छिन् ।
मन्त्रीले यति गरेपछि युट्युव र फेसबुक जस्ता सामाजिक सञ्जाललाई ‘कन्टेन्ट’ भइहाल्ने र आफू चर्चामा आइने कुरा बुझेकी मन्त्री श्रेष्ठले आगामी दिनका नयाँ स्टन्ट के गर्छिन त्यो भने हेर्न बाँकी नै छ ।


तर उनको चर्चामा आउने यस्ता क्रियाकलापमाथि कटाक्ष गर्दै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भनेका छन्–‘सस्तो लोकप्रियताको लागि कति नाटक गर्छौ? अमेरिकाको एमआइटी विश्वविद्यालयको कलेज फिस ७६ लाख ५४ हजार १५२ रुपैया तिर्न सक्नेले एउटा ३५० रुपैयाको सट किन्न्न सक्दैन रे ? अनि काठमाडौमा फेरि–फेरि गाडी चढ्ने सक्ने , एन्जिओबाट महिनाको ३ लाख तलब खान सक्नेले साथै मन्त्रीकोरुपमा करिब महिनाकै ९० हजार तलब खानसक्ने र काठमाडौको ५ स्टार होट्लमा बिदेशी श्रीमान सङ दिनको २० हजारको डिनर गर्नेले जाबो ३५० रुपैयाको एउटा सट किन्न सकिँदैन रे ? तिम्रो नाटक एउटाले क्यामरा बोक्ने एउटाले च्यातिएको सट घरबाट लगाएर आउने अनि फोटो खिच्ने र बिदेशमा रहेका केही पैसा खाएर काम गर्ने भक्तेले फोटो हाल्ने र वाव र ग्वाउँ गर्दै भजन गाउने बिचार सोझा–सोझा इलामे जनतालाई उल्लु बनाउने यो तिम्रो नाटकघर होईन ? तिमीहरु भन्दा राम्रो नाटक त घुर्मुस सुन्तलीले पनि गर्ने सक्दैनन?


तिमीहरु यो हद सम्म जान सक्छौ भने अहिले पहिचानको मुद्दापनि बोकी टोपलेको छौ रे बरु च्यातिएको सट लागाएको नाटक गर्नु भन्दा त केरा, भोर्लाको पात र अमलिसोको स्याउला ओडेर घरदैलो कार्यक्रम गरन इलामे जनताको पहिचान भनेर झुक्याउन पनि पाईने जनाताले बिजोग भएछ भनेर मतदान सङै कपडा दान पनि गर्नेछन अमेरिकामा सेकेन्ड ह्यान्ड कपडा पसल नै खोल्न पुग्नेछ तिम्रा रगरग ।।


चर्चामा आउँमा लागि शिक्षा मन्त्री श्रेष्ठ मात्रै हैन, यसअघिका प्राधानमन्त्री, मन्त्रीहरुपनि ‘अटेन्सन सिकर’ थिए । कसरी हुन्छ जनताको ध्यान आफूतिर उनीहरुले पनि अनेक हत्कण्डा अपनाउँने गरेका थिए । ति मध्ये केही उदाहरण यस्ता छन् ।
डा.बाबुराम भट्टराई ः प्रधानमन्त्री हुँदा नेपाली गाडि, पद गएपछि बिदेशी गाडि
२०६८ साल भदौंमा प्रधानमन्त्री भएका थिए डा.बाबुराम भट्टराई। त्यतिबेला उनले आफू स्वदेशमै उत्पादन भएको गाडी प्रयोग गर्ने र अन्य सामग्री पनि स्वदेशी नै प्रयोग नारा अघि सारेका थिए ।


उनले झन्डै १९ महिना आफ्नो कार्यकालमा हुलास कम्पनीले उत्पादन गर्दै आएको मुस्ताङ जिप चढेका थिए । तर आफू प्रधानमन्त्रीबाट बाहिरिएपछि उनले सो जिप चढ्न छोडे र बिदेशी गाडिमा हुईकिन थाले । तर नेपालमै गाडि उत्पादन गर्ने सो हुलास कम्पनी सरकारले उत्पादन गर्ने बाटो बन्द गरेको भन्दै गाडी बनाउँने काम बन्द गर्न बाध्य भयो । २०७१ सालमा सरकारले यूरो ३ मापदण्ड लागू गरेपछि सो मापदण्ड अनुसारको गाडि उत्पादन गर्न एक बर्ष समय माग्दापनि सरकारले सुनुवाई नगरेको भन्दै कम्पनीले गाडी उत्पादन बन्द गरेको थियो ।


लालबाबु पण्डित–साइकलमन्त्रीको रुपमा प्रचार
तत्कालीन प्रधानमन्त्री सुशील कोइराला (२०७० माघ २७–२०७२ असोज २३) मन्त्रीमण्डलमा सामान्य प्रशासन मन्त्री भएका लालबाबु पण्डितले आफूलाई साइकल मन्त्री भनेर प्रचार गराएका थिए ।
२०७२ साल असार २५ गते संसदबाट पारित भएको निजामती सेवा ऐन (चौथो संशोधन) मा निजामती कर्मचारीले डिभी, पिआर लिन नपाउँने व्यवस्थाका कारण उनी चर्चामा रहेका थिए । अझ सम्पत्ति विवरणमा थोत्रो साइकल राखेपछि सादगी मन्त्री भनेर उनको चर्चा चुलिएको थियो ।


उनले आफ्ना अंगरक्षक सेना र आफू दुवै जना साइकल चढेर झण्डा फर्फराउँदै सिंहदरबार अगाडि गुडेको फोटो राखेर ‘सिंहदरबार बदल्ने संघर्ष’ नामको किताव समेत छपाएका थिए ।
उनले आफ्नो सम्पत्ति विवरणमा पुरानो साइकल राखेपनि उनले पत्नी विमला महतलाई मन्त्रालयकै बा १ झ ९८४७ नम्बरको गाडी चड्न दिएको भनेर आलोचना हुने गरेको थियो ।


२०७४ सालको निर्वाचनमा पनि उनले आफू गरिब भएको प्रचार गरे । साइकल चढेर भोट माग्न जाने र पत्रकार सम्मेलनमा गरिब भएकोले चुनाव खर्च नभएको बताउने गर्थे । २०७४ साल कात्तिक २१ गते विराटनगरमा भएको पत्रकार सम्मेलनमा उनले आफूलाई १००–२०० को रिर्चाज कार्ड सहयोग आउने र कतारबाट मजदुरले एक एक सय उठाएर ६० हजार पठाइदिएको बताएका थिए ।
२०७४ सालको चुनावमा उनले कांग्रेसका नेता डा.शेखर कोइरालालाई पराजित गरेर फेरी मन्त्री बन्न सफल भए । तर दोश्रो पटक मन्त्री भएका बेला सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको चल सम्पत्ति ६१ लाख बढी, १० तोला सुन, १५ तोला चाँदी देखिएको थियो ।
पछि राम्रो काम गर्न नसकेको भन्दै पण्डितलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीबाट समेत हटाएका थिए ।
विश्वेन्द्र पासवान पनि साइकल मन्त्री
पूर्व मन्त्री पण्डितमात्र हैन, अर्का पूर्वमन्त्री विश्वेन्द्र पासवानले पनि मन्त्री भएका बेला केही महिना साइकल चढेर सस्तो लोकप्रियता कमाएका थिए ।


सुशील कोइराला नेतृत्वको सरकारमा २०७२ सालमा वन तथा वातावरण मन्त्री रहेका विश्वेन्द्र पासवान साइकल चढेर संसद र मन्त्रालयमा गएर चर्चा कमाएका थिए ।
तर मन्त्रालयमा उनका लागि गाडि हुँदा हुँदै उनले मन्त्रालय अन्तर्गत रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत परियोजनाको बा २ झ ९७१ नम्बरको सुविधायुक्त स्कार्पियो गाडी मन्त्रालयमा तानेका थिए । उनले एक महिना साइकल चढेर चर्चा कमाएपछि उनी मन्त्रालयको गाडि चढन थालेका थिए । मन्त्री भएका बेला काठमाडौं बाहिरका कार्यक्रममा जाँदा उनले नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्ने गरेका थिए । मन्त्री पदमा रहुञ्जेल उनको जिल्ला भ्रमणमा झन्डै १७ लाख रुपैयाँ हेलिकोप्टर भाडा उठेको थियो ।
मन्त्रालयमा चन्दा बाकस राख्ने, मन्त्रालय सफा गर्ने किराँती
नेपाली कांग्रेस र माओवादी गठबन्धन सरकार रहेको बेला संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री थिए सुदन किँराती । उनले पनि आफू चर्चामा आउँन विभिन्न गतिविधि गरेका थिए ।
अघिल्लो बर्ष माघ ३ गते मन्त्री नियुक्त भएर मन्त्रालय प्रवेश गरेको केही दिनमै उनले मन्त्रालयको पहिलो तल्लामा चन्दा बाकस राखेका थिए । दुर्गम क्षेत्रको विकासका खर्च गर्ने भन्दै उनले सिसाको पारदर्शी चन्दा बाकस राखेका थिए । जसमा एकहजार, पाँच सय, एक सय रुपैयाँका नोटहरु देखिएको थियो । मन्त्रीले मन्त्रालयमा चन्दा बाकस राखेको प्रति आलोचना भयो । त्यसबाट कति चन्दा उठ्यो र कहाँ खर्च भयो त्यो पनि उनले सार्वजनिक गरेनन ।
गत फागुन ४ गते उनले आफूले मन्त्रालयमा आफ्नो कार्यकक्ष सफा गर्दै गरेको भिडियो खिच्न लगाएर सार्वजनिक गराए । उनका प्रेस सहयोगीले कार्यकक्षमा पोछा लगाउँदै गरेको भिडियो सार्वजनिक गरेका थिए । उनले चर्चामा आउन स्टन्ट गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।


पछिल्लो समय आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्ने भन्दापनि पत्रकार तथा युट्युवरहरुको ध्यान कसरी खिच्ने, युट्युवरहरुको टोली लिएर जथाभावी अनुगमनमा जाने, काम गरेको देखाउँन कर्मचारीहरुलाई चाहिँदो नचाहिँदो निर्देशन दिने प्रबृति बढिरहेको छ । के गर्दा लोकप्रीयता कमाउँन सकिन्छ, के गरेर भाइरल बनिन्छ भनेर अनेक सस्तो फण्डा गर्ने प्रबृत्ति सांसद तथा मन्त्रीहरुमा पनि बढिरहेको छ ।