Breaking

घण्टीको जितका लागि खटिए रवि, सुहाङलाई ओलीको ‘टिप्स’, डेकेन्द्रको जित खोज्दै हर्क–बाबुराम


काठमाडौँ – इलाम उपनिर्वाचनलाई दल र उम्मेदवारहरुले प्रतिष्ठाको बिषय बनाउँदा बझाङ प्रदेशसभा–१ सुनसान जस्तै छ । दलहरुले सम्पूर्ण शक्ति इलाम केन्द्रित गरेका छन् ।

सबैजसो उम्मेदवारहरुले लागि प्रतिष्ठाको बिषय बनाएको इलाम–२ मा दलहरुले सबै शक्ति परिचालन गरेका छन् । अर्थात, धेरैलाई उपचुनावको मौका पारी इलाम घुम्ने महुर्त नै जुरेको छ । प्रदेशहरु अस्थीरताको अखडा बनिरहेका बेला बझाङ प्रदेशसभा १ मा भने खासै चहलपहल छैन । इलाममा भने केन्द्रीय मन्त्री, पदाधिकारीदेखि सबैको दौडधूप बढेकाले चहलपहल नीकै बढेको छ । उम्मेदवारहरु भौतिक रुपमा मतदाता रिझाउन हरसम्भव लागिरहदा सामाजिक सञ्जालको प्रयोग पनि उत्तिकै छ । एमालेले युुवापुस्ताप्रति बढ्दो आकर्षण, पहिचान र सुवास नेम्वाङको विरासत थाम्न भन्दै सुहाङलाई अघि सारेको छ ।

तीन दशकदेखि एमालेको कब्जा रहेको यो क्षेत्रमा कसैगरी पनि जीतको निरन्तरतामा एमाले छ । एमालेले आफ्नो सबै केन्द्रीय शक्ति इलाम केन्द्रित गरेको छ । भगवती चौधरी, शिवमाथा तुम्बाहाम्फे, प्रदीप ज्ञवाली लगायत नेताहरु मतदाता रिझाउन लाग्दा अध्यक्ष केपी शर्मा ओलीले त आफूहरु पहिचान विरोधी नभएको भन्दै मतदाता मनाउनेदेखि सुहाङलाई जिताए विकासको ठेक्का लिनेसम्मै घोषणा गरे ।

कांग्रेसको पनि सबै केन्द्रीय शक्ति इलाम केन्द्रित छ । डम्बर खड्कालाई जिताउन महामन्त्री विश्वप्रकाश शर्मा चुनावी कमाण्डर नै तोकिदा अर्का महामन्त्री गगन थापा पनि इलाममै छन् । शेखर कोइराला समेत त्यहाँ पुगेर आफ्ना उम्मेदवार जिताउन लागिपरेका छन् । उनले त्यहा निर्णायक मानिने धर्मगुरु आत्मदन्दसँग समेत भेट गर्दै यसअघि बारम्बार एमालेलाई हियोग गरेकाले यसपटक कांग्रेसलाई सहयोग गरी हेर्न अनुरोध गरेका छन् । उम्मेद्वार छनौटमा भेषराज आचार्यको पक्षमा सभापतिसँग पैठाजोरी खेल्दै उनले टिकट नपाए चुनाव हराउने सम्मका चेतावनीका बाबजुत खड्का जिताउन लागिपरेको दृश्य नीकै रोचक छ ।
यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो सबै शक्ति इलाममा केन्द्रित छ । मिलन लिम्बुलाई जिताउन सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र रमेश प्रसाईं सुरुवातदेखि नै इलामा रहेका बेला मन्त्रीहरु सुमना श्रेष्ठ, डीपी अर्या लगायत नेताहरु पनि इलाम पुगेका छन् । निशा डाँगी, तोसिमा कार्की लगायत नेताहरु पनि इलाममै छन् । शुक्रबार पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछाने पनि इलाम पुगेका छन् ।

वाम गठबन्धनतर्फका साझा उम्मेदवार बन्न नसकेपछि अहिले आफ्नै उम्मेदवार जिताउन लागिपरेका झलनाथ खनालको प्रयास पनि कम्ती छैन । त्यसबाहेक चर्चामा रहेका पहिचानवादीका साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमको प्रचारमा धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ पनि इलाम ओहोरदोहोरमा छन् । सामाजिक सञ्जालबाट पनि स्वतन्त्र जिताउन अभियान नै चलाएका छन् । यसबाहेक उनकै पक्षमा स्वागत नेपाल, युग पाठक लगायतहरु पनि लागेको चर्चा छ ।

पहिचानका पक्षधर गोपाल किराती लगायत नेताहरु पनि उनकै पक्षमा छन् । त्यसैगरी लक्ष्मी गुरुङलाई जिताउन राप्रपाका अध्यक्ष राजेनद्र लिङदेन, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतको पनि बाक्लो उपस्थिति छ । उपेन्द्र यादवले थेगिमलाई समर्थन गर्ने बताए पनि उनले इलाममा पाइला सम्म टेकेका छैनन् भने बाबुराम भट्टराई लगायतहरु भने इलाम पुगेका छन् । मतदाता रिझाउने उनीहरुको प्रयास पनि जारी छ ।

यो निर्वाचनको जित–हारले कानुन निर्माण, सत्ता समीकरण परिवर्तन वा पहिचानकै मुद्दा स्थापित गर्न पनि तात्विक फरक पार्दैन । तर, आफ्नो एजेण्डा र पार्टीप्रतिको झुकाव परीक्षण गर्दै मीसन ८४ को ट्रेलरका रुपमा इलाम निर्वाचनलाई दल र उम्मेदवारहरुले लिएको देखिन्छ । तर, दलहरुले देखाएको शक्ति प्रदर्शन र तामझामको नतिजा भने वैशाख १५ ले नै देखाउने छ ।