Breaking

रविकै कारण रास्वपा बदनाम, छैन विकल्प, फक्रिएको पार्टी मुर्झाउने खतरा, सुशासनको धज्जी उडाउँदै


काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकै जगमा उठेको राष्ट्रिय स्वतन्त्र पार्टी उनै कारण पटक पटक विवादमा तानिने गरेको छ । रवि नै सर्बैसर्व जस्तो देखिएको लोकतान्त्रिक पार्टीमा उनको बदनामीलाई पनि काँध थाप्नु पर्दा रास्वपा हैरानी खेप्न बाध्य छ ।

सुशासनको मुद्दामा टेकेर मौलाएको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि आफै सुशासनको धज्जि उडाउन लागिपरेको आरोप लाग्ने गरेको छ । मन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछानेको एकपछि अर्काे प्रमाण बाहिरिएर पेचिलो बनेको सहकारी मुद्दामा रविसँगै पार्टी पनि बदनामित भईरहेको छ । नागरिकता, राहदानी र सहकारी विवादमा मुछिएका उनलाई पार्टीले हरेक कुरामा काँध थाप्दा रविकै कारण जनतामा रास्वपामाथिको लोकप्रियता घट्न थालेको छ । त्यसैले हत्तपत्त रविको विपक्षमा कोही बोल्न नसक्ने पार्टीभित्र पनि यस विषयमा प्रश्न उठिरहेको छ । प्रश्नबाट भाग्ने र प्रश्नलाई नै बन्द गर्ने निरङ्कुश नेतृत्व रास्वपाले नबनाएको भन्दै पार्टी सभापति लामिछानेलाई सहकारीको मुद्दामा सत्यतथ्य बाहिर ल्याउन सहजीकरण गर्न पार्टीका नेता गणेश कार्कीको टिप्पणी छ ।

लोकतान्त्रिक भत्रे पार्टीमा पनि रविको एकलौटी चल्न थालेको भन्दै रमेश खरेल जस्ता व्यक्तिले पार्टी छोडिरहेका छन् । तर, गठबन्धन गर्ने अघिल्लो रातसम्म चाल नपाएका पार्टीका उपसभापति स्वर्णिम वाग्लेजस्ता नेताहरू सभापतिको बचाउमा लाग्नु पर्ने बाध्यता कायमै छ ।

एमाले कांग्रेस माओवादी जस्ता पार्टीलाई भ्रष्टाचारीको ट्याग लाग्दा रवि र उनका कोर टिमकै कारण रास्वपाको अर्काे नाम सहकारी हुन पुगेको छ । तर, एक ताका सबैको नजरमा पर्ने गरेका तोसिमा, सोविता जस्ता नेताहरू अहिले विस्तारै हराउन थालेका छन् । एमालेमा विरोध गर्दा भीम रावलकै हालतमा पुग्ने डरपार्टी भित्रको नेतामा देखिन्छ । रविको बदनामीलाई पनि पार्टीले ढाकछोप गर्नु पर्ने स्थिति बनेको छ । विगतमा पनि नागरिकता विवादकारण उपनिर्वाचन हुनु पूर्व उनकै लहलहैमा लागेर काम गरिरहेका मन्त्रीले राजीनामा दिनु परेको थियो । अहिले पनि सुमना, बिराजभक्त जस्ता मन्त्रीले केही सकारात्मक छाप छोडिरहँदा फेरि रविकै कारण सरकार छोड्नु पर्छ कि भत्रे डर पनि रास्वपामा देखिन्छ । तर, यसपटक सहकारी मुद्दामा रवि दोषि भईहाले पनि रास्वपा सरकार छाड्ने मनस्थितिमा छैन ।

सुमना श्रेष्ठ शिक्षा मन्त्री भईसकेपछि पार्टीका कुनै पनि काममा नदेखिने बताएकी थिइन् । तर, पार्टीले उपनिर्वाचन प्रचार प्रसारका लागि उनीसहितका चार जना मन्त्रीको कार्यसूची नै तयार पारि सार्वजनिक गरिपछि दबावमा नै सही सुमना आफ्नो वचन नै तोडेर इलाममा पुगेकी छिन् । हप्तैपिच्छेको प्रत्येक शुक्रबार चार मन्त्रीको बैठक बस्ने भने पनि अहिलेसम्म बस्न सकेको छैन । पार्टीका मन्त्रीले खाएको थाल माझेको र सिलाएको सर्ट लगाएको भिडियो, फोटो प्रचार गर्दा स्टन्टको बिल्ला भिर्नु परेको छ । सभापतिदेखि तिनका मन्त्री समेत स्टन्टमा लाग्दा त्यसले पनि रास्वपाको छवि धुमिलिएको जानकारको बुझाई छ ।

सुशासनको हुंकार गर्ने रवि आफूमाथि सामान्य संसदीय छानविन समिति बनाउने मागलाई समेत बेवास्ता गरिहेका छन् । जसका कारण आफ्नैले जन्माएको पार्टी दिनदिनै बदनाम हुँदै गएको छ । लोकतान्त्रिक बाटोमा हिड्न खोजेको रास्वपालाई रविको एकलौटी निर्णय बाधक बनिरहेको छ । ठूलो जनमानसले विश्वास गरेर रविकै बलबुतामा फक्रिएको रास्वपा उनकै कारणले मुर्झाउने खतरा पनि बढेको छ ।