Breaking

रक्सी र केवलकारमा विदेशीको चासो, अमेरिका र चीनलाई फकाउँदै सरकार, कानुन नै बन्यो बाधक


काठमाडौँ – देशमा लगानीको वातावरण बढाउन र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ सरकारले यही वैशाख १६ र १७ गते काठमाडौँमा तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ । पहिलो र दोस्रो लगानी सम्मेलनमा धेरैले प्रतिवद्धता जनाएपनि लगानी भने भित्रिएको थिएन । नजिकिदै गरेको तेस्रो लगानी सम्मेलन पनि अनेक प्रश्नको चौघेरामा छ ।

तेस्रो सम्मेलन सफल बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुन दिलो ज्यान दिएर लागिपरेका छन् । नेपालमा लगानी भित्र्याउनका लागि विकशित देशका व्यवसायलाई अनुरोध गर्न अर्थमन्त्री यतिबेला अमेरिकामा व्यस्त छन् ।

लगानी सम्मेलनको मुखैमा प्रतिपक्षको अवरोध र सरकारको दम्भका कारण संसद अधिवेशन अन्त्य भएपछि अध्यादेशबाट कानुन ल्याउने सरकारको तयारी छ । विदेशी लगानी भित्र्याउन सरकारले २५ वटा आयोजनाहरू शो केसमा राख्ने निर्णय गरिसकेको छ । तर, विज्ञहरू भने केवलकार र रक्सीमा बाहेक अन्य उत्पादन क्षेत्रमा लगानी आउन नसक्ने तर्क गरिरहेका छन् ।

माओवादीका प्रधानमन्त्री र अर्थमन्त्रीले दौडधुप गरे पनि सत्ता गठबन्धनकै अन्य दलले लगानी सम्मेलनलाई चासोका साथ हेरेका छैनन् । विदेशी लगानीकर्ताहरूलाई नेपालमा ल्याउने जोडबल सरकारले गरिरहेको बेला नेपाली व्यवसायीहरू भने खासै सकारात्मक देखिएको छैनन् । नेपाली व्यवसायीहरूलाई सरकारले चलायमान बनाउन सकेको छैन । नेपालका एकमात्र अर्वपति व्यवसायी विनोद चौधरी सरकारसँग चिढिएका छन् । यसै आर्थिक वर्षमा मात्रै ४६ हजारभन्दा बढी व्यवसायहरू कालो सूचीमा परेका छन् । नेपाली व्यवसायी पछाडि ‘फर्किदा पीर छ, अगाडि भीर’को अवस्था रहेको बेला विदेशी लगानी कसरी भित्रिन्छ भन्ने प्रश्न अहम् बनेको छ ।

ऋणीहरुले बैंकको नियमित ब्याज र किस्ता नतिरेपछि खराब कर्जा स्वतः बढेको छ । गत वर्षसम्म २ दशमलब चार नौं प्रतिशत रहेको खराब कर्जा अहिले बढेर ३ दशमलब ६ तीन प्रतिशत पुगेको छ । अर्थात् कोभिडका कारण शिथिल उद्योग व्यवसाय तंग्रिन नपाउँदै बैंक तथा वित्तीय संस्थाले ब्याज असुलीको अचाक्ली धन्दा चलाएपछि पनि व्यवसायीहरु ऋणको पासोमा परेका छन् । तर, समस्याको समाधान खोज्ने गरी सरकारले सहुलियतका कार्यक्रम ल्याएको छैन । अर्कोतर्फ सबैभन्दा ठूलो समस्या राजनीतिक अस्थिरताको हो । प्रचण्ड नेतृत्वको सरकारको भविश्यमाथि नै प्रश्न उठेको छ । सत्तारुढ दलहरू नै असन्तुष्ट छन् । नेपालका राजनीतिक दलहरू सत्ता र स्वार्थको खिचातानीमा रूमालिरहेको कारण तेस्रो लगानी सम्मेलन पनि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ हुने देखिएको छ ।
योहो टेलिभिजनका लागि पासाङ शेर्पाको रिपोर्ट ।।।