Breaking

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ


काठमाडौँ – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले शपथ लिएका छन् । बिहीबार साँझ उनले प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनी आजै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

नेकपा (एकीकृत समाजवादी)का सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । एमालेका १०, माओवादीका १०, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्ति पार्टी सात सांसद रहेका छन् । तर, नागरिक उन्मुक्ति पार्टी विभाजित छ । अध्यक्ष रञ्जीता श्रेष्ठ सोडारीको पक्षमा छिन् भने संरक्षक रेशम चौधरी पक्षका सांसद सत्ता गठबन्धनको पक्षमा छैनन् ।
चौधरी पक्षका पाँच सांसदले सोडारीलाई आफूहरूको समर्थन नरहेको जानकारी प्रदेश प्रमुखलाई गराएका थिए । ५३ सदस्यीय प्रदेशसभामा हाल ५२ सदस्य छन् । बहुमतका लागि २७ सांसदको आवश्यकता पर्छ ।