Breaking

सुन प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी


काठमाडौँ – सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।

नेपाल प्रहरीको अनुरोधमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको पुष्टि गरे । ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा जोडिएपछि डिफ्युजनका लागि नोटिसका सीआईबीले पत्राचार गरेको थियो ।

प्रहरी महानिरीक्षकको नेतृत्वमा हुने इन्टरपोलको नेसनल कन्ट्रोल ब्युरो (एनसीबी), काठमाडौंले इन्टरपोल महासचिवालयलाई चलाउनेविरुद्ध डिफ्यूजन नोटिस जारी गर्न पत्राचार गरेका थियो ।यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।

सुन तस्करी प्रकरणमा जोडिएका बेल्जियन नागरिक दावा छिरिङसँग चलाउनेको सम्बन्ध देखिएको थियो । राजश्व अनुसन्धान विभागले ३ साउनमा मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर ल्याएको ठूलो परिमाणको सुन बरामद गरेको थियो ।

त्यसबेला झण्डै एक क्विन्टल सुन भन्सार जाँच पास पार गरेर बाहिरिएको भनिएपनि पछि जोख्दा ६० किलोमात्रै सुन भेटिएको थियो । १९ दिनपछि यसमा संगठित अपराधको तत्व देखिएको भन्दै विभागले थप अनुसन्धान गर्न सम्पूर्ण प्रतिवेदन सीआईबीलाई जिम्मा लगाएको थियो । त्यसक्रममा भएको अनुसन्धानपछि सीआईबीले यो समूहले थप ३०२ किलो सुन तस्करी गरिसकेको निष्कर्ष निकालेको थियो ।

यो मामिलामा सीआईबीले दावा, जीवनसहित २९ जनालाई प्रतिवादी बनाएर सुन भन्सार चोरी पैठारी र संगठित अपराध समेतको कसुरमा मुद्दा चलिरहेको छ । पछि सुन तस्करीको थप छानबिन गर्न भन्दै पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सिमिति बनाइएको थियो । समितिले चलाउनेलाई सीआईबीका प्रहरीले समातेर पनि छाडेको भन्दै प्रहरीलाई कारबाही गर्न समेत सिफारिस गरेको थियो । आयोगको सिफारिसपछि सीआईबीका तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपीद्धय रुगम कुँवर र दुर्गा दाहाललाई सीआईबीबाट प्रहरी हेडक्वाटर सरुवा गरिएको थियो ।

आयोगकै सिफासरपछि सुन तस्कर चिनियाँ नागरिकसँग सम्बन्ध देखिएको भन्दै माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेपछि सीआईबीले महरालाई पक्राउसमेत गरेको थियो । स्वास्थ्य स्थितिका कारण देखाउँदै महरालाई हिरासतमुक्त गरिए पनि उनीमाथि सीआईबीले अनुसन्धान जारी राखेको छ।