Breaking

ओली र प्रचण्डलाई टप्ने युवा नेताको गाली राजनीति, एजेण्डा र नीति छैन, खुइल्याउनै व्यस्त (भिडियोसहित)


काठमाडौँ— यस पटक सदनमा देखिएको नयाँ पुस्ताको अनुहारबाट सबै जना उत्साहित थिए । फरक पार्टीका नेतालाई गाली गरेरै राजनीति गर्ने परम्परागत शैली तोडेर नीति र सिद्धान्त केन्द्रीत राजनीति हुने अपेक्षा गरिएको थियो । तर, नयाँ पुस्ताले पनि पुरानै नेताहरूको बाटो अबलम्बन गर्दा ती आशाहरू निराशामा परिणत भएको छ ।
केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल जस्ता पुराना नेताहरूले नेपालमा गालीगलौजको राजनीतिबाट नै आफूलाई स्थापित गराए । पुराना पुस्ताका नेताहरुले राजनीति भनेकै विपक्षी नेतालाई सत्तोसराप गर्ने र खुइल्याउने अर्थमा आम नेपालीलाई समेत बुझाएका छन् ।

पुराना नेताको राजनीति गर्ने शैलीबाट वाक्क बनिरहँदा राजनीतिमा देखिएको नयाँ अनुहारलबाट केही फरक स्वाद पाउने आश र अपेक्षा गरिएको थियो । तर, ओली, देउवा, प्रचण्ड ,माधव जस्ता नेताले नै तय गरेको राजनीतिक संस्कारमा नयाँ पुस्ता पनि हिड्न थालेकाछन् ।
पुराना दलभित्रैबाट आएका नयाँ पुस्ता र नयाँ दलबाट आएका नयाँ पुस्ता पनि गाली गलौजकै राजनीतिमा रमाउन थालेका छन् ।सरसर्ती हेर्दा अहिलेका पनि नयाँ बोतलमा पुरानै रक्सी जस्तो देखिदैछन् । उनिहरुको राजनीतिक संस्कार पनि हिजोका पुस्ता भन्दा माथि उठन सकेको छैन ।
गगन थापा, रवि लामिछाने, ज्ञानेन्द्र शाही जस्ता नयाँ अनुहारले नीति, विचार, सिद्धान्त र देशको मुद्दामा टेकेर राजनीतिमा अघि बढ्ने आँकलन गरिएकोमा उनीहरू पनि गाली गलौजकै राजनीतिमा अग्रसर भईरहेका छन् ।

राजनीतिमा आउनु र सत्तामा पुग्नु अघिसम्म पनि सुमधुर भएको रवि गगनको सम्बन्ध अहिले तिक्तताले भरिपूर्ण छ । रास्वपाले गत आम चुनाव ताका काठमाडौंका १० मध्ये ९ क्षेत्रमा आफ्ना उम्मेदवारलाई खडा गरेको थियो । तर, गगनको निर्वाचन क्षेत्र ४ मा भने उठाएको उम्मेदवारलाई पनि दर्ता फिर्ता गर्न लगाएको थियो । पार्टी फरक भए पनि चुनावमा गगनलाई प्रतिष्पर्धी नठानेका रवि अहिले गगनको निशाना बनिरहेका छन् । त्यस्तै आफूमाथि आगो ओकल्ने गगनमाथि रवि पनि उछितो काट्न पछि पर्दैनन् । सहकारीको मुद्दामा आफूलाई निरन्तर प्रहार गरिरहेका गगनलाई उनकै निर्वाचन क्षेत्रमा बहस गर्न चुनौती नै दिए ।

रवि र गगन मात्रै होइन पहिलो पटक संसद् छिरेका ज्ञानेन्द्र शाही पनि आफ्नो राजनीति यात्रालाई गाली गलौजबाटै अघि बढाई रहेका छन् । आफ्नो पेशा र अभियानबाट कमाएको विश्वनीयताले उदाएका रवि र ज्ञानेन्द्र आफै अहिले एक अर्काको आखाँको तारो बत्रे गरेका छन् । ज्ञानेन्द्रको नजरमा रवि प्रचण्डभन्दा बेइमानी बनेका छन् । जनताले राप्रपालाई रोजे पनि नरोजे पनि रास्वपालाई भने रोज्नै नहुने उनको धारणा छ ।

राजनीतिमा आश गरिएका गगन, रवि, ज्ञानेन्द्रहरूको पछिल्ला दिनको दैनिकी एक अर्कालाई खुइल्याउनमा बितिरहेको छ । उनीहरू पनि उही ओली, देउवा, प्रचण्ड, माधव जस्ता नेताले खनेको गालीगलौजकै परम्परागत पथबाटै अघि बढिरहेका छन् । यही पुरानै राजनीति शैलीमा चल्ने भए अहिलेका नयाँ पुस्ताको आवश्यकता नै पर्ने थिएन । देउवा, प्रचण्ड ओलीले जस्तै गल्ती गर्ने छुट लाखौंले विश्वस गरेका नयाँ अनुहारलाई छैन । जनताले आश गरेका नेताहरू नै एकअर्काको गालीगलौजमा उत्रँदा नयाँ पुस्ताबाट पनि नागरिकको भरोसा उड्न सक्छ । त्यसैले व्यक्ति केन्द्रीत भएर राजनीति गर्ने परम्परागत शैलीलाई तोडेर विचार र सिद्धान्तलाई आधार बनाई जनभावना अनुसार काम गर्नुपर्छ भत्रे जिम्मेवारी बोध नयाँ पुस्तामा हुनुपर्ने देखिन्छ ।