Breaking

विराटनगरको रानी क्षेत्रमा तनाव, हवाई फायर र अश्रुग्यास प्रहार


काठमाडौँ— दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ ।

राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई विराटनगर १५ मा अर्को समूहले अवरोध गरेको थियो । आज दिउँसो अवरोधपछि सुरू भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको हो ।

स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

स्थानीयबासीका अनुसार विराटनगरको वडा नम्बर १५ र १७ को बीचमा एउटा समूहले र्‍यालीलाई अवरोध गरेपछि विवाद बढेको थियो । अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ ।

स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको मोरङ प्रहरी उपरीक्षक कार्कीले बताए । उनका अनुसार दुवै समूह तितरबितर भएपछि अहिले अवस्था सामान्य हुँदै गएको छ ।