Breaking

आजपनि कांग्रेस र राप्रपाद्वारा संसद् अवरुद्ध


काठमाडौँ — विपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन् । आज बसेको बैठकको सुरुमै कांग्रेस र राप्रपाका सांसदहरू आसनबाट उभिएर बैठक अवरुद्ध पारेका हुन् ।

सभामुख देवराज घिमिरेले सांसदहरूलाई कार्यव्यवस्था समितिको बैठकमा भएको सहमति अनुसार बैठक अघि बढाउन आग्रह गरे ।

सभामुखले भने–‘माननीय सदस्यहरूलाई अहिले भर्खर मात्र भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णय र त्यहाँ भएका समझदारीको बारेमा ध्यान आकर्षण गर्न चाहन्छु । आज हामी जरुरी विषयमा मात्र प्रवेश गर्ने कुरामा यहाँहरू जानकार हुनुहुन्छ । त्यहाँ हुँदा एउटा कुरा गर्ने, सदनमा आएर अर्को कुरा गर्ने हामी कस्तो खालको परिपाटीको विकास गर्छौँ ? त्यसले गर्दा यस्तो गलत परिपाटीको विकास गर्न हामी उद्धत नहोऊँ । जे समझदारी भएको छ त्यही अनुसार अगाडि बढौँ । त्यसका लागि आसनग्रहण गर्न आग्रह गर्दछु ।’

सभामुखले आजको बैठकको कार्यसूचीमा रहेको क्रम सङ्ख्या १ देखि ७ सम्मको कार्यक्रम सूचीबाट हटाएका छन् ।