Breaking

माधवलाई पेल्दै ओली, एकलौटी निर्णयले झलनाथ विद्रोही, माधवकै बलमा कांग्रेसले फुटाउला गठबन्धन ?


काठमाडौँ – जताजता माओवादी उतैउतै स्वाहाको रणनीतिमा देखिएको नेकपा एकीकृत समाजवादी नयाँ समीकरणमा पनि पेलिन थालेको छ । कुनै बेला मुखै हेर्न नचहाने एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको गठबन्धनमा जानुको उसको औचित्य पुष्टि भएको छ न माधव नेपालले मान पाएका छन् । बरु एकलौटी निर्णय गर्ने र प्रचण्ड माधवबाट अनुमोदन गराउने बाटोमा ओली अघि बढ्दा सत्ताको ईपिसेन्टर जस्तै देखिएको शक्ति कहाँकहाँ पेलियो त ?

राष्ट्रिय सभा उपाध्यक्ष आफ्नो हुने नेकपा एकीकृत समाजवादीका नेताहरुको दाबीका बीच यो भाग एमालेले हात पारेको छ । फागुन २१ मा बनेको एमाले नेतृत्वको चार दलको गठबन्धनमा राष्ट्रिय सभा अध्यक्षमा माओवादी उम्मेदवार र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई निर्वाचित गर्ने सहमति थियो । दलहरुको सहमतिअनुसार नै राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका नेता नारायण दाहाल निर्वाचित भएका थिए । तर त्यतिन्जेल पर्ख र हेरको रणनीतिमा रहेको एकीकृत समाजवादी नयाँ समीकरणमा समेटिएपछि फागुन २९ गते भएको पाँच दलको आठ बुँदे सहमतिमा उपाध्यक्षबारेको सहमति हटाइयो । यसपछि राष्ट्रियसभा उपाध्यक्ष नेकपा एकीकृत समाजवादीलाई दिने भद्र सहमति भएको सो पार्टीका नेताहरूले बताउँदै आएका थिए । तर उनीहरुको दाबी बुधबारदेखि असत्य सावित भइसकेको छ । जसले नयाँ समीकरणमा सो पार्टीको हैसियत प्रष्ट हुँदा एकीकृत समाजवादीमाथि अर्को प्रहार भएको छ । अर्थात निरन्तर पेलानमा पर्दै आएको उसले वागमती प्रदेशमा अड्को थापेर पाएको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको भाग पनि गुमाउने संकेत मिलेको छ । नाउपाले प्रदेश सभा सदस्य कैलाश चौधरीलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने बताउँदा एमाले–माओवादी र एकीकृत समाजवादीले आलोपालो गर्ने सहमति भएको नाउपाका नेताहरुको दाबी छ । यसअघि वागमतीमा मन्त्री दिने र मुख्यमन्त्रीमा आलोपालो गर्ने तथा सुदूरपश्चिममा आफूले मुख्यमन्त्री पाउने एकीकृत समाजवादीले दाबी गर्दै आएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यरातमा समीकरण परिवर्तन गरेपछि बिच्किएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल केही दिन त पर्ख र हेर मै थिए । तर विभिन्न स्थानमा भाग मिलेपछि फकिएका उनले यसलाई वाम एकताको प्रयासका रुपमा अथ्र्याउँदै आएका थिए । नेपाली कांग्रेसले गरेको वैकल्पिक समीकरणलाई समेत नस्वीकारेका उनी आफू अहिलेको सत्ताको ईपिसेन्टर भएको र प्रचण्ड ओलीले हत्ते गरेकाले जानै परेको जसरी प्रस्तुतसमेत हुँदै आएका थिए । तर इलाम २ मा झलनाथ खनाललाई ओलीले बाइकट गर्दा बझाङ १ (१) मा भाग पाउने माधवको आशामासमेत तुषरापात भइसकेको छ । त्यस्तै यो वाम गठबन्धन नभएको तथा वृहत वाम एकताको प्रस्थान विन्दु नबन्ने भन्दै एमाले नेताहरुको भनाइले माधवको अर्को बहानासमेत फेल खाइसकेको छ । जहाँ एमाले अध्यक्ष ओलीले त सार्वजनिक कार्यक्रममै गठबन्धनमा भएर मात्रै माधव र झलनाथप्रति उग्र नभएको आशयको अभिव्यक्ति नै दिएका छन् ।

हुन त घुर्काउँदै भाग मागेको एकीकृत समाजवादीले माधवलाई १५ महिना प्रधानमन्त्री बनाउँन ओली प्रचण्ड तयार भएकोसमेत दाबी गर्दै आएको छ । त्यस्तै आफू नभए सत्ता नै धमराउने स्थितिले उनीहरु कोटेश्वर पुगेको भन्दै एकीकृत समाजवादीका नेताहरु नाम भन्दा नै मुख कुल्ला गर्नेहरु निरीह भएकोसमेत भन्न भ्याइसकेका छन् । तर यी सबै उनीहरुको आत्मरति रहेको विस्तारै प्रष्ट हुँदै जादाँ दवाव बढाउनकै लागि हुन सक्छ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनुपर्ने विषयमा उनीहरु नेपाली कांग्रेससँगै उभिन थालेका छन् । तर रविका लागि ढाल बनेर उभिएका प्रचण्ड ओलीको अहिलेको अवस्थामा एकीकृत समाजवादी गठबन्धन फुटाउने बीउका रुपमा कांग्रेसले प्रयोग गर्ने डरमा समेत नभएको देखिन्छ । जसलाई उनीहरुले सिधै देउवासँग बढाएको भेटघाटलाईसमेत आधार मान्न सकिँदा एकचोटी फेरि एकीकृत समाजवादी विजोग अवस्थाबाट गुज्रिरहेको छ ।