Breaking

प्रचण्डको सरकार ढाल्दै देउवा, अस्त्र बने रवि, माधवको बलमा फुट्ला गठबन्धन ? (भिडियोसहित)


काठमाडौँ— संसदमा कांग्रेसले उठाइरहेको सहकारीको मुद्दा हेर्दा सामान्य लागे पनि राजनीतिक रुपमा निकै रणनीतिक छ । कांग्रेस सहकारीको मुद्दामार्फत गृहमन्त्रीलाई निसाना बनाएर अंक गणितमा फेरबदल पार्ने प्रयासमा देखिन्छ । यसबाहेक एमाले र माओवादी र एमालेसँग कांग्रेसका सामानान्तर भेटले समेत संशय बढाएको छ ।


२८ दिनभित्र सत्ता ढाल्ने असफल प्रयास गरेको कांग्रेसको सत्तामा फर्किने जुक्ति जारी छ । नयाँ समीकरण बनेको आठ दिनमै सत्ता ढाल्न माधव नेपाललाई हतियार बनाएको कांग्रेस त्यसमा पनि असफल बनेपछि अहिले रवि लामिछानेलाई हतियार बनाएर सत्तामा कमब्याक गर्ने रणनीतिमा छ । त्यसमाथि अहिले रवि लामिछानेसँगै माधव नेपाललाई पनि सत्ता ढाल्ने टूल बनाउने अर्को मौका कांग्रसलाई मिलेको छ । सत्ता भागबन्डा, उपनिर्वाचन र राष्ट्रिय सभा सदस्य उपाध्यक्ष निर्वाचनमा धोका खाएर फेरि मान खोज्नुपर्ने अवस्थामा पुगेको एकीकृत समाजवादीले अहिले कांग्रेसकै भाषा बोल्न थालेको छ । अर्थात सत्ता गठबन्धनमा सबै दलहरु एक ठाउँमा रहँदा एकीकृत समाजवादीले भने सहकारी ठगीमा छानविन समिति बनाउनु पर्ने कांग्रेसको मागलाई साथ दिएको छ ।

एकीकृत समाजवादीमा असन्तुष्टिको यो हद आउनुका पनि कारण छन् । गठबन्धन बन्दा राष्ट्रिय सभाको उपाध्यक्ष एमालेले पाउने बुँदा हटाएर समाजवादीले पाउने गरी सैद्धान्तिक सहमति भएको दाबी गरिए पनि ओलीले आफ्नै उम्मेदवार निर्वाचित गराएका छन् । त्यसबाहेक उपनिर्वाचनमा भाग नपाएर समाजवादीले आफ्नै उम्मेदवार उठाउनुले समेत गठबन्धनको असन्तुष्टि र माधव अपमानित भएको बुझिन्छ । माधवको मान राख्न प्रधानमन्त्री प्रचण्डले प्रयास गरे पनि ओलीका अगाडि उनका प्रयास फिक्का हुनुले कांग्रेससँग सकारात्मक वातावरण बने माधव जुनसुकै बेला कोर्स फेर्नसक्ने अवस्थामा देखिन्छन् ।
अब सरकार बनाउने कांग्रेसका अनेक प्रयास हेरौँ ।

ओलीसँग माधव असन्तुष्ट हुँदा राष्ट्रिय सभामा एकीकृत समाजवादीले कांग्रेसलाई समर्थन गर्न सक्ने वातावरण बनाउनबाट कांग्रेस चुकेको छ । यसबाहेक संसदमा रवि लामिछानेलाई भिडाउने टुल बनाएर एमाले र माओवादीसँग समानान्तर छलफल कांग्रेसले चलाएको छ । उसले अहिले ओलीसँगको भेटका लागि कृष्णप्रसाद सिटौला र प्रचाण्डसँगको छलफलका लागि गगन थापालाई पठाउने गरेको छ । यसले पनि यो समीकरण फेरिए जुनसुकै पार्टीसँग मिल्न सक्ने सहज वातावरण बनाइरहेको छ । यो भन्दा बढी पहिले नै ओलीको प्रस्ताव स्वीकारेको भए प्रचण्डको धोका सहनु नपर्ने आत्मसमीक्षा गरेको कांग्रेस एमालेसँगको सम्बन्ध जतिसक्दो सुमधुर बनाउने प्रयासमा देखिन्छ । अहिले रवि लामिछानेविरुद्ध संसदीय छानविन समिति बनाए नैतिकताको प्रश्न उठाएर सरकारबाटै बाहिरिने वातावरण बनाउँदै प्रचण्डलाई अंक गणितमा अफ्ठ्यारो पार्ने रणनीतिमा कांग्रेस छ । नत्र सहकारीमा रास्वपाभन्दा ठूलो ठगी एमालेका नेताहरुले गरेको र सहकारी प्रकरणमै मुछिएका माओवादीका शक्ति बस्नेतबारे बोल्नै नसक्नुलेसमेत रविलाई हतियार बनाएर वैकल्पिक समीकरणमा सत्ताको पासा पल्टाउने कांग्रेसको रणनीति बुझ्न त्यति कठिन छैन ।

यसबाहेक हिजो माओवादीसँगको समीकरणमा हुँदा कांग्रेसले सत्ता छाड्नुपर्ने अभिव्यक्ति दिने नेताहरु नै अहिले स्थिरता र संविधान संशोधनलाई मुद्दा बनाएर कांग्रेस–एमाले मिल्नु पर्ने बताइरहेका छन् । कांग्रेस सरकारमा जानु हुँदैन भन्नेहरु नै नयाँ समीकरणको सरकार बनाउन जोडबल गरिरहेका छन् । केही दिनअघि मात्रै शेखर कोइरालाले यो विषय उठाएका थिए भने संसद विघटनलाई असंवैधानिक भन्दै संविधान रक्षाको निम्ति लडाईं लडेको कांग्रेस नै केपी ओलीले गरेको संसद विघटन ठिक थियो भन्ने अवस्थासम्म पुगेको छ । आइतबार मात्रै कांग्रेस सांसद चन्द्र भण्डारीले ओलीले संसद विघटन गरेको समयमा चुनावमा गएर देशलाई स्थिरता दिन कांग्रेस लाग्नु पर्नेमा प्रचण्ड र माधवको पछि लाग्नु गम्भीर त्रुटि भएको टिप्पणी गरेका थिए । एमाले खुशी पार्न कांग्रेसले गरिरहेको हरसम्भवका प्रयास र गठबन्धनकै खटपटले यो सरकारले बजेटसमेत पारित गराउन नसक्ने अवस्था बन्न सक्नेमा विश्लेषकहरुसमेत एकमत देखिन्छन् ।

अहिले सत्तामा प्रचण्ड नै भारतका विश्वास पात्र मानिएका छन् । यद्यपि, कांग्रेसलाई सत्तामा ल्याउनकै लागि केही दिनअघि मात्रै पनि भारतीय गुप्तचार निकाय ‘रअ’का एजेन्टले चन्द्रागिरि र मनकामनामा कांग्रेसका नेताहरुसँग गरेको छलफलले समेत कांग्रेसको सत्ता यात्राको सपनालाई पूरा गर्ने देखिन्छ । यसबाहेक उपनिर्वाचनमा अपेक्षाकृत भोट ट्रान्सफर भए÷नभएको विषयलेसमेत अहिलेको गठबन्धनलाई असर पार्ने भएकाले यी सबै प्रयासको नतिजा हेर्न बैशाख १५ गतेसम्म कुर्नै पर्नेछ ।