Breaking

लगानी भित्र्याउन थप कानुन आवश्यक भए अध्यादेश ल्याउनेछौं : प्रधानमन्त्री


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा लगानी भित्र्याउनका लागि थप कानुन आवश्यक भएमा अध्यादेश ल्याउने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नीति निर्माणमा सरकारले सधैं निजी क्षेत्रसँग सहकार्य गर्दै आएको बताए । ‘निजी क्षेत्रले सरकारसँग काम गर्न गरेको सङ्कल्पको स्वागत गर्छु, समृद्धिका लागि सरकार दृढ छ’ उनले भने ‘मुलुकमा निजी क्षेत्र र सरकारी लगानीको खाँचो छ, लगानी भित्र्याउन स्रोत, सोच, कार्यशैलीमा समेत समस्या छन्, आवश्यक परेमा अध्यादेश ल्याउनेछौं ।

अर्थतन्त्रका आधारभूत सूचक सकारात्मक बन्दै गए पनि अर्थतन्त्रमा केही समस्या रहेको उनले स्वीकार गरे । ‘यसपटक नीति तथा कार्यक्रममा जनप्रतिनिधि, निजी क्षेत्र र आम जनताका सुझाव समेटिने छन्’ दाहालले भने ‘त्यसका आधारमा बजेट बन्ने छ, परम्परागत सोच र कार्यशैलीबाट जनताका अपेक्षा पूरा गर्न गाह्रो छ, यसपटक यो समस्या समाधानमा लाग्नेछु ।’

यो पटक पूँजीगततर्फ स्रोत बढाइने उनले बताए । पूँजीगत खर्च बढ्दा अर्थतन्त्र सुधारमा सहयोग गर्ने र त्यसले निजी क्षेत्रको मनोबल बढाउन मद्दत पुग्ने उनको भनाइ छ ।