Breaking

सदनमा रास्वपालाई सिन्डिकेट, बैठकमै लफडा, सत्ता र प्रतिपक्ष नै भिडे, सभामुख हायलकायल, भोलि के होला ?


प्रतिनिधि सभाको आजको बैठक केही समय बसेर स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनु पर्ने मागलाई नछाडेपछि आजको बैठक अवरुद्ध भएको हो ।
यो दृश्य मंगलबारको प्रतिनिधि सभा बैठकको हो । बैठक आरम्भ भएको सभामुख देवराज घिमिरेले जानकारी गराए । लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले उठेर विरोध जनाए । सभामुखले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न ५ मिनेटको समय उपलब्ध गराए । सचेतक थिङले सहकारी पीडित सडकमा आउँदा सूर्यदर्शन सहकारी लगायत ६ वटा सहकारीबाट करिब १ अर्ब रुपैयाँ गैरकानूनी रुपमा गोर्खा मिडिया कम्पनीमा लगाइएको भन्दै त्यस्तो काम गर्नेले दण्ड पाउँछ कि पाउँदैन ? भनेर प्रश्न गरिन् । सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति बनाउन माग गरे पनि सरकारले कांग्रेसलाई गलाउनका लागि समिति गठन नगरेको सचेतक थिङ्ले आरोप लगाइन् । उनले आफ्नो धारणा राखेपछि सभामुखले सांसद मनिष झालाई बोल्ने समय दिए । तर कांग्रेसले उठेर विरोध जनाइरह्यो । पटकपटक सभामुखको रुलिङलाई बेवास्ता गर्दै कांग्रेस सांसदहरुले सदनमा अवरोध सिर्जना गरेपछि सत्तापक्षका सांसदसमेत उठेर बोल्न खोजे ।

सभामुख र प्रधानमन्त्रीले कांग्रेससँग छलफल नै गरेर संसद सुचारु गर्न पहल गर्दा कांग्रेस आफ्नो मागमा अडिक नै रह्यो । गृहमन्त्री लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन हुनु पर्नेमा कांग्रेस अडिक रहँदा सभामुखको आग्रहलाई बेवास्ता गरेको छ । कांग्रेसकी सचेतक थिङले सरकारले नेपाली कांग्रेसलाई गलाउनका लागि संसदीय छानविन समिति नबनाएको धारणा राखिन् ।

१५ मिनेट बैठक स्थगित गरेर सभामुख देवराज घिमिरेले नेपाली कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका नेताहरूसँग छलफल अगाडि बढाएका थिए । छलफल निर्षकषमा नपुगेपछि २० मिनेटमात्र बसेको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरियो । यता राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको उत्खनन् गर्न छानविन समिति बनाउन प्रस्ताव गरेको छ । विगतका जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको उत्खनन् गर्न उच्च स्तरीय स्वतन्त्र छानबिन समिति बनाउन रास्वपाको प्रस्ताव छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न कांग्रेसले संसदीय छानबिन समितिको माग गरिरहेको बेलामा रास्वपाले सबै भ्रष्टाचारको फाइल खोल्नुपर्ने माग अघि सारेको हो ।
संसदमा दलहरुबीच जारी जुहारी र आ–आफ्नो अडानले विधेयक अधिवेशनका रुपमा रहेको सदनको चालु अधिवेशन अगाडि बढ्न सकेको छैन । सत्ता र प्रतिपक्षबीचको कोपभाजनमा परेको संसदले कसरी निकास पाउला ? त्यो भने अझै केही दिन हेर्नै पर्ने भएको छ ।