Breaking

सगरमाथा चढ्नेको होड्बाजी, पालो पाउनै मुस्किल, ट्राफिक जामले आरोहीलाई नै जोखिम, अस्तव्यस्त हिमाल (भिडियोसहित)


काठमाडौँ— वसन्त क्रृतुको सुरुवातसँगै हिमाल आरोहणको चहलपहल सुरु भएको छ । अनेक कीर्तिमान र आरोहणप्रति आम मानिसको आकर्षण बढेकाले पर्वतारोहण क्षेत्र थप फस्टाउँदै गएको छ । तर विश्वको सर्वोच्च शिखर सगरमाथासँगै अन्य हिमालहरुमा आरोहीको बढ्दो चापले ट्राफिक जाम नै हुने अवस्थाले भने विश्वको ध्यान तान्ने गरेको छ । आरोहणको सिजन सुरु भएसँगै यो विषयमा धेरैको चासो बढ्दै गएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा घन्टौं जाम, भन्दा तपाईंलाई पक्कै अनौठो लाग्न सक्छ । संसारकै अग्लो स्थानमा मानिसको यत्रो भिड । आरोहणमा जानेहरुको यो ताँती सामान्य पक्कै होइन । तर यो यर्थाथ हो । आरोहणमा आम मानिसको बढ्दो आकर्षण र अनेक कीर्तिमान बनाउने होडका कारण सगरमाथा आरोहण गर्नेको संख्या निरन्तर बढ्दै गइरहेको छ । गत वर्ष ४ सय ७८ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । जुन अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । यो वर्ष अहिलेसम्म २५ प्रतिशत अर्थात ११ टोलीका एक सय ३० जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन् । तथापि यो वर्ष पनि गत वर्षकै हाराहारीमा सगरमाथा आरोहणको अनुमति लिने अनुमान पर्यटन विभागको छ । वसन्त क्रृतुका लागि हालसम्म सगरमाथा, धौलागिरी, कञ्चनजंघा, मकालु, ल्होत्सेसहित १५ वटा हिमाल आरोहणका लागि दुई सय ६४ जनाले आरोहण अनुमति लिइसकेका छन् ।

आरोहण अनुमति लिनेको संख्यालाई हेर्दा यो वर्ष पनि सगरमाथा आरोहण मानव जामविहीन नहुने देखिन्छ । कारण सरकारले सगरमाथा होस् या अन्य कुनै पनि हिमाल आरोहणका लागि सिजनमा कति अनुमति दिने संख्या तोकेको छैन । आरोहणमा जान चाहने सबैले अनुमति पाउँछन् । आरोहण सिजनमा सगरमाथाका साथै अन्य हिमाल आरोहण गर्न आउनेलाई अनुमति संख्या तोक्ने भन्दा पनि जाम न्यूनीकरण गर्ने अन्य विकल्पहरुबारेमा छलफल गर्ने तयारीमा सरकार छ । सगरमाथा होस् या अन्य जुनसुकै हिमाल आरोहणमा प्रतिकूल मौसममा आरोहीहरुलाई क्याम्पमा नै राख्ने र मौसम अनुकूल भएपछि एकैपटक आरोहणमा निस्कने गर्छन् । आरोहणका लागि मौसम मुख्य विषय हो । आरोहणप्रतिको बढ्दो आकर्षणले सगरमाथासँगै हिमाल आरोहण फस्टाउँदै गएको छ । तर जलवायु परिवर्तनका कारण आरोहणमा प्रतिकुलतासमेत थपिँदै छ । नेपालको हिमाल आरोहण फिक्स लाइन क्लाम्बिङमा आधारित भएकाले आरोहीको थोरै चाप बढ्ना साथ जाम हुनेगर्छ । आरोहणमा देखिएको चापलाई मध्यनजर गर्दै नियमित आरोहणको सिजनलाई केही समय अघि धकेलेर आरोहणमा हुने मानव जामलाई कम गर्न सकिने आरोहीहरुको सुझाव छ ।

सगरमाथा आरोहण धेरैको सपना हुने गरेको छ । सगरमाथा आरोहणसँगै अन्य हिमाल आरोहणमा विभिन्न कीर्तिमान बनाउने होडमा साहसिक गतिविधिप्रति मानिसहरुको बढ्दो आकर्षणले आरोहणप्रतिको भाष्य नै परिवर्तन भइरहेको छ । पछिल्लो समय आरोहण सहासिक खेलको रुपमा पनि विकास भइरहेको छ । यसमा नेपाल मुख्य गन्तव्य बन्ने निश्चित छ । तर आरोहणका लागि आकर्षित गर्न सरकार र सम्बन्धित निकायले विशेष चासो देखाउन जरुरी छ । अहिलेसम्म रोल्टी उठाउने र अनुमति दिनेबाहेक आवश्यक कदम चाल्न नसकिरहेको अवस्थामा नीतिगतदेखि विभिन्न सुविधा दिने र भौतिक संचरनाको विकासमा पनि जोड दिन आवश्यक छ ।