Breaking

एन्फाको बदमासीमा मन्त्री विराजको सुधार, रंगशालामा अब खेल मात्रै हुने, राखेपले पायो जिम्मेवारी (भिडियोसहित)


काठमाडौँ— नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल रंगशाला नै विश्वकप छनोट चरणका खेल खेल्न अयोग्य भएपछि नेपाली खेलकुद निकायको सर्वत्र आलोचना भएको थियो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशाला नै नेपाली फुटबलको एक मात्र अन्तर्राष्ट्रिय मापदण्डको खेल मैदान हो । तर यही मैदान खेल्न योग्य भएन र नेपालले विश्वकप छनोट चरणअन्तर्गत बहराइनसँगको ‘होम म्याच’ गुमाउनु परेको थियो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला नेपाली फुटबलको एक मात्र अन्तर्राष्ट्रिय मापदण्डको खेल मैदान हो ।एएफसीका प्रतिनिधिको प्रत्यक्ष निरीक्षणलेदशरथ रंगशालामा खेल्नयोग्य नभएको प्रतिवेदन तयार पारेपछि नेपालबाट आयोजनाको अधिकार खोसिएको थियो । जसका कारण बहराइनसँगको होम म्याच नेपालले विदेशी भूमिमा खेल्नु परेको थियो । त्यससँगै नेपाली खेलकुदको कार्यकारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मैदानको संरक्षण गर्ने जिम्मेवारी पाएको एन्फाबाट त्यो अधिकार खोसेको थियो । त्यसयता राखेपले नै मैदानको संरक्षण गर्दै आएको छ ।हाल माउण्ट एभरेस्ट स्पोर्ट्स एण्ड इभेन्ट प्रालिले दशरथ रंगशालाको घाँसे मैदानलाई निकै आकर्षक बनाएको छ । माउण्ट एभरेस्ट स्पोर्ट्स प्रालि फुटबलको मैदान निर्माण सम्बन्धी काम गर्दै आएको संस्था हो । राखेपका सदस्यसचिव टंकलाल घिसिङले जिम्मेवारी पाएको एन्फाले राम्रोसँग काम गर्न नसकेपछि देशको प्रतिष्ठासँग जोडिएको आयोजनालाई जोगाउन परिषद्कै जिम्मेवारीमा राखिएको जानकारी दिए । अब एन्फाले दशरथ रंगशालामा खेल आयोजना गर्न परिषद्को स्वीकृति लिनुपर्ने सदस्य घिसिङको भनाइ छ ।

अन्य विभिन्न खालका इभेन्ट आयोजनाका लागि भने दशरथ रंगशालामा नदिने राखेपलेस्पष्ट पारेको छ । रंगशालाको मैदानमा मात्र नभएर सेन्थेटिक ट्य्राक समेत संरक्षण गर्न राखेपले कार्यदल नै बनाएको छ । व्यावसायिक खेलाडीलाई मात्र रंगशालामा अभ्यास गर्ने वातावरण बनाउने राखेपको तयारी छ ।

राखेपले नेपाली खेलकुदमा खराब परिस्थिति दोहोरिन नदिन दीर्घकालसम्म दशरथ रंगशालाको व्यवस्थापकीय जिम्मेवारी आफैँमा सीमित राख्ने जनाएको छ । राखेपले आगामी जेठ १४ गतेसम्म दशरथ रंगशाला तयार गर्न माउन्ट एभरेस्ट स्पोर्ट्स एण्ड इभेण्ट प्रालिलाई जिम्मेवारी दिएको हो । तर माउण्ट एभरेष्टले केही हप्तामा नै अन्तर्राष्ट्रिय खेल खेल्न योग्य बनाउने विश्वास व्यक्त गरेको छ ।
पछिल्लो एक महिनादेखि मैदानलाई मलजल गर्ने, लेभल गर्ने र हरियो बनाउने काम भइरहेको छ । भविष्यमा नयाँ प्रविधि प्रयोग गरेर यो रंगशालालाई राम्रो बनाउने योजना छ ।

विश्वकप छनोट चरणअन्तर्गत आगामी जुन ६ मा नेपालको संयुक्त अरब इमिरेट्स (युएई) सँग ‘होम म्याच’ तय भइसकेको छ । उक्त ‘होम म्याच’ दशरथ रंगशालामै खेल्न योग्य हुनेगरी राखेपले तयारी गरिरहेको छ । यद्यपि त्यसका लागि एन्फाको भूमिका पनि महत्वपूर्ण हुने राखेपले उल्लेख गरेकोछ ।