Breaking

रवि र बालेन नै मिल्दा पनि २४सै घण्टा ठमेल खुल्नेमा शंका, स्थानीयको विरोध, उत्साहित व्यवसायी (भिडियोसहित)


काठमाडौँ— गृहमन्त्री हुना साथ पर्यटकीय हबको रुपमा परिचित ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउन निर्देशन दिएका थिए । निर्देशन दिएको झन्डै महिना वित्न लाग्यो तर यो विषय झन झन पेचिलो बनिरहेको छ ।
पर्यटकहरुको हवका रुपमा परिचित ठमेल २४ सै घण्टा खुल्ने खबरले ठमेल केन्द्रित विभिन्न पेसा व्यवसायमा संलग्न व्यवसायहरु उत्साहित छन । २४ सै घण्टा निर्वाध रुपममा पेसा व्यवसाय गर्न पाए केहि राहत मिल्ने अपेक्षा उनीहरुको छ । ठमेल २४ सै घण्टा खुल्ने भएपछि आफ्नो व्यवसायको प्रकृति अनुसार कतिपय व्यवसायी त कामदार नै खोज्न सुरु गरिसकेका छन । कतिपय आफै नै धेरै खट्ने योजनामा छन । कतिपय भने कार्यन्वयनमा गइसकेपछि महोल हेरेर मात्र अघि बढ्ने योजनामा छन । तर सबैलाई सुरक्षाको चिन्ता उस्तै छ ।

ठमेलामा २४ सै घण्टा व्यापार तथा व्यवसाय सञ्चालनसम्बन्धी कार्यविधि तयार भईसकेको छ । कार्यविधिमा राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिर्वायरूपमा ध्वनी नियन्त्रण ‘साउण्ड प्रुफ’ व्यवस्था गर्नुपर्ने भनिएको छ । अत्याधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पु¥याउन तथा सुरक्षितरूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने, कलाकारहरूले गायन तथा पर्दशन गर्दा मौलिकता, संस्कृति झल्किने र सीपमुलक नृत्य प्रदर्शन गर्नुपर्ने, डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा सजगतापूर्वक स्वस्थ मनोरञ्जन दिनेगरी गायन तथा नृत्य व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरिएको छ । विहान ४ बजेसम्म सञ्चालनमा रहने त्यस्ता व्यवसायका लागि छुट्टै आचारसंहिता तयार भईसकेको छ । डान्स बार, दोहोरी, लाइभ बार एण्ड लाउन्ज बार, पब, बार, क्लव र डिस्कोमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई ग्राहकको रूपमा प्रवेश गराउन नपाइने र कार्यविधि अनुसार सम्पूर्ण रात्रिकालीन व्यवसायीका लागि सम्पूर्ण सुरक्षा तथा मापदण्ड व्यवस्था गरिएको सरकारको दावी छ । स्थानीय व्यवसायी र जिल्ला सुरक्षा समितिको समन्वयमा सुरक्षा प्रबन्ध कडा बनाएर ठमेल दरवार मार्ग क्षेत्रलाई रातिको समयमा विना अवरोध निर्वाध रुपमा सञ्चालन गरिछाड्नु पर्ने पक्षमा व्यवसायीहरु छ ।

तर के ठमेल दरवार मार्ग २४ घण्टा खुलाउने योजना सोचेझै कार्यन्वयन गर्न सहज भने देखिँदैन । ठमेल अझै पनि पूर्ण व्यापारिक क्षेत्र होइन । यहाँका रैथानेहरुको बसोबास क्षेत्र समेत हो । उनीहरु ठमेलमा व्यवसायसँगै बसोबास समेत गर्छन् । ठमेलमा रातिको समयमा हुने होहल्ला कुटपिट झैझगडाले यहाँका स्थानीय दिक्दार भईसकेका छन । स–साना लुटपाट सामान्य बनिसकेको छ । स–साना विषयमा समेत ठमेल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न प्रशासन असक्षम छ । गुण्डाराजग्रस्त ठमेलमा गुण्डाराज कहि कमि आएको पक्कै हो तर समय समय घट्न ठुला अपराधिक घटनाले ठमेल सुरक्षित छ भन्नेमा शंका कायम छ । गत असारमा ठमेलमा व्यवसायीमाथी भएको हमला होस् या असारमै १५ वर्षीय बालिका बलात्कृत भएको घटना मनसपटलबाट हटेको छैन । ठमेल २४ सै घण्टा खुलाउने विषयमा महानगर सकरात्मक रहे पनि स्थानीय र वडाले अझै स्वीकार गरेको छैन । कतिपय स्थानीय यो निर्णयको विरोध गर्दै आएका छन । ठमेलमा नै व्यवसायसँगै बसोबास समेत गर्दै आएको स्थानीयहरु २४ सै घण्टा खुल्ने विषयले चिन्तित छन ।

चौबिसै घण्टा बजार खुला गर्ने निर्णय राम्रो भए पनि सुरक्षा र स्थानीयको सुत्न पाउने अधिकार हनन हुने चिन्ता सबैलाई छ । त्यसैले गृहको नेतृत्व सम्हाल्न साथ ठमेल दरवारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउन निर्देशन दिएका गृहमन्त्री रवि लामिछाने आफै द्धविधामा छन । निर्देशन दिएको महिना दिन वित्नै लाग्दा समेत अन्यौलतामा छन । स्थानीय सरकारको समर्थन, केन्द्रीय तहमा आफ्नै पार्टीको प्रभुत्व रहेको ठमेल क्षेत्र २४ सै घण्टा खुलाउने विषयमा अझै पनि सरोकारवाला निकायसँग छलफलमै छन ।

स्थानीयवासी तथा व्यवसायीहरुले सरकारले सहज रुपमा बस्न पाउने अधिकार हनन नहुने र सहज रुपमा व्यवसाय वातावरण बनाउने र शान्ति सुरक्षा मजबुत हुनेगरी व्यवसाय सञ्चालन गर्न तयारी छ । गृहमन्त्री हुनसाथ ठमेल र दरवारमार्ग २४ सै घण्टा खोल्ने भनिए अहिले बहुमत को आधारमा नभई अल्पमतमा परेका स्थानीयको अनुमति र सल्लाह अनुसार अघि बढ्ने पक्षमा उभिएका गृहमन्त्री लामिछानेले यसको कार्यन्वयनमा ल्याउँछ वा उहि स्टन्ट गरेर छोड्छ चासो बढेको छ ।