समाचार

वंशजको नागरिकता निरन्तरताको लागि साझा नेपाली समाज बेलायतले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र


साझा नेपाली समाज बेलायतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र पठाएको छ। बेलायत भ्रमणमा रहेकी राष्ट्रिय सभाकी नवनिर्वाचित सांसद बिष्णुकुमारी सापकोटामार्फत पठाएको ज्ञापनपत्रमा गैरआवासीय नेपालीहरुले वंशजको आधारमा प्राप्त गरेको नेपाली नागरिकताको निरन्तरताको अधिकार हुनुपर्ने माग गरिएको छ ।

साझा नेपाली समाजका अध्यक्ष दीपक सापकोटा र महासचिव शशांक शर्माद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा समाजका ट्रष्टी दयानिधी सापकोटा र अध्यक्ष दीपक सापकोटाले हस्तान्तरण गर्नुभएको थियो । ज्ञापनपत्रमा आफुहरु स्वच्छाले नभई बाध्यताले विदेश आएको र काम गर्ने क्रममा सुविधाको लागि नागरिकता लिएको भएपनि मन र मुटु नेपालमै रहेको र विदेशमा बस्दा सिकेका ज्ञान र सिप नेपालमा प्रयोग गर्न चाहेको उल्लेख छ ।

कुनै तामझाम नगरी हस्तान्तरण गरिएको कार्यक्रममा साझा नेपाली समाजका अध्यक्ष दीपक सापकोटा, महासचिव शशांक शर्मा, ट्रष्टी दयानिधी सापकोटा, सल्लाहकारहरु नारायण आचार्य, कमल खरेल, वरुण भण्डारी, प्रेम आले मगर, सहकोषाध्यक्ष उपेन्द्र सापकोटा, अञ्चल सापकोटा, दुर्गा सापकोटा लगायतको उपस्थिति थियो ।