Breaking

इलाम–२ मा कांग्रेसका खड्काले दर्ता गराए उम्मेदवारी


काठमाडौँ— आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी केन्द्रीय सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, कांग्रेस इलामका पूर्वपार्टी सभापति हिमालय कर्माचार्यलगायतको उपस्थितिमा खड्काले मनोनयन दर्ता गराएका हुन् ।

खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा आठौं क्रममा मनोनयन दर्ता गराएका हुन् ।

पञ्चेबाजा सहितको मनोनयन गर्न आएको नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको र्‍यालीले इलाम नगर समेत परिक्रमा गरेको थियो ।

एमालेका सुहाङ नेम्वाङ, पहिचानपक्षधर उम्मेदवार डकेन्द्रसिं लिम्बु थेगिमलगायत ७ जनाले यसअघि नै उम्मेदवारी दर्ता गराइसकेका छन् ।

रास्वपाले भने पार्टी उपसभापति डीपी अर्याललाई पर्खिरहेको छ ।