Breaking

विश्वका धनाढ्यको आयो सूची, धनीका सम्पति झन्झन बढ्दै, अमेरिका र चीनकै टक्कर, विनोद जहाँको त्यहीँ भिडियोसहित)


काठमाडौँ— अमेरिकी बिजनेस म्यागजिन फोब्र्सले विश्वका धनाढ्य व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ । सन् २०२४ को मार्च ८ का दिन सेयर मूल्य र विनिमय दरका आधारमा फोब्र्सले विश्वका धनाढ्यको सूची तयार पारेको हो ।
अमेरिकी बिजनेस पत्रिका फोब्र्सले हरेक वर्ष विश्वका धनाढ्यहरुको सूची सार्वजनिक गर्दै आएको छ । फोब्र्सले यस वर्षका डलर अर्बपतीहरुको सूची सार्वजनिक गरेको छ । यसले विश्वका सबैभन्दा धनी अर्बपतिहरूको कुल सम्पत्तिका आधारमा दस्तावेजको प्रस्ताव गर्दछ । जसलाई अमेरिकी पत्रिका फोब्र्सले सामान्यतया मार्च महिनामा वार्षिक रूपमा सङ्कलन र प्रकाशन गर्ने गर्दछ । यसको सूची पहिलो पटक सन् १९८७ को मार्चमा प्रकाशित भएको थियो ।

सूचीमा प्रत्येक व्यक्तिको कुल सम्पत्ति अनुमान गरिएको हुन्छ, जुन अमेरिकी डलरमा उनीहरूको दस्तावेजीकृत सम्पत्ति र ऋणको लेखामा आधारित हुन्छ । यस वर्ष पनि विश्वका सबैभन्दा धनाढ्य व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ । सन् २०२४ को मार्च ८ का दिन सेयर मूल्य र विनिमय दरका आधारमा फोब्र्सले विश्वका धनाढ्यको सूची तयार पारेको हो । फोब्र्सका अनुसार विश्वमा अमेरिकी डलरमा एक अर्बभन्दा बढी सम्पत्ति हुने अर्बपतिहरूको संख्या दुई हजार ७८१ पुगेको छ । यो संख्या हालसम्मकै उच्च हो । यसअघि सन् २०२१ मा अर्बपतिहरूको संख्याले नयाँ रकेर्ड बनाएको थियो ।

त्यतिबेलाको तुलनामा यस वर्ष २६ जना अर्बपति थपिएका छन् । गत वर्ष सन् २०२३ को तुलनामा १४१ जना थप अर्बपति भएका छन् । यी धनाढ्यहरू पहिलेभन्दा झन धनी बन्दै गएका छन् । सबैको सम्पत्ति जोड्दा १४.२ ट्रिलियन अमेरिकी डलर रहेको छ । यो आंकडा सन् २०२३ को भन्दा दुई ट्रिलियन बढी हो भने सन् २०२१ को भन्दा १.१ ट्रिलिनय धेरै हो । अर्बपतिको सूचीको दुई तिहाइ अर्बपतिहरू एक वर्षअघिभन्दा बढी धनी भएका छन् । एक चौथाइको सम्पत्ति घटेको छ । सबैभन्दा धेरै कमाउने शीर्ष २० धनाढ्यहरु छन्, जसले सन् २०२३ यता ७०० अर्ब अमेरिकी डलर कमाएका छन् । अमेरिकाबाट सबैभन्दा धेरै ८१३ अर्बपतिको कुल सम्पत्ति ५.७ ट्रिलियन डलर छ । दोस्रोमा चीन (हङकङसहित)का ४७३ अर्बपतिको कुल सम्पत्ति १.७ ट्रिलियन छ ।
कमजोर उपभोक्ता खर्च र रियल स्टेटको व्यापार खस्कँदा चीनका अर्बपतिले ३०० अर्ब डलर गुमाएका छन् । तेस्रो नम्बरमा भारतमा २०० जना अर्बपति रहेका छन् । फोब्र्सको धनाढ्य सूचीको पहिलो नम्बरमा फ्रान्सेली फेसन कम्पनीका मालिक बर्नार्ड अर्नाल्ट रहेका छन् । उनको सम्पत्ति २३३ अर्ब अमेरिकी डलर छ । दोस्रो नम्बरमा अमेरिकी उद्यमी एलन मस्क छन्, उनको सम्पत्ति १९५ अर्ब अमेरिकी डलर छ । तेस्रो अमेरिकाकै जेफ बेजोसको सम्पत्ति १९४ अर्ब अमेरिकी डलर छ । चौथोमा फेसबुकका संस्थापक मार्क जुकरबर्गको सम्पत्ति १७७ अर्ब र पाँचौंमा आरोकल टेक्नोलोजी कम्पनीका अध्यक्ष ल्यारी एलिसनको सम्पत्ति १४१ अमेरिकी डलर छ । नवौँ स्थानमा रहेका भारतका मुकेश अम्बानीको सम्पत्ति ११६ अर्ब डलर छ ।

१७ औँ स्थानमा रहेका भारतकै गौतम अडानीको सम्पत्ति ८४ अर्ब डलर छ । ८१ औं स्थानमा रहेका चीनका ज्याक माको सम्पत्ति २४.५ अर्ब अमेरिकी डलर छ । अमेरिकी चर्चित गायिका टेलर स्विफ्ट पनि अर्बपति सूचीमा परेकी छन् । उनको सम्पत्ति करिब १.१ अर्ब अमेरिकी डलर पुगेको छ । अन्य १३ अर्बपति सेलीब्रेटीको कुल सम्पत्ति ३१ अर्ब डलर छ । विश्वका अर्बपतिहरूको सूचीमा नेपालका उद्योगी विनोद चौधरीको स्थान यथास्थितिमा रहेको छ । फोब्र्सले जारी गरेको अर्बपतिहरूको सूचीमा चौधरी एक हजार ७६४ औँ स्थानमा रहेका छन् । चौधरीको सम्पत्ति पछिल्लो दुई वर्षमा स्थिर देखिएको छ । सन् २०२३ र २०२४ मा चौधरीको सम्पत्ति १.८ अर्ब अमेरिकी डलर रहेको छ ।