Breaking

प्रधानमन्त्रीज्यु दल निकट ट्रेड युनियन नराख्ने हिम्मत गर्नुस् : रघुजी पन्त


काठमाडौँ— नेकपा एमालेका सांसद रघुजी पन्तले कर्मचारीमा एउटा ट्रेड युनियन भए पुग्ने बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा निजामती सेवा विधेयकमाथिको छलफलमा भाग लिंदै उनले एकभन्दा बढी र राजनीतिक दल निकटका कर्मचारी ट्रेड युनियन आवश्यक नरहेको बताए । यसोभन्दा आफ्नो पार्टी निकटका कर्मचारीहरुले गाली गर्न सक्ने उल्लेख गर्दै उनले गाली खान तयार भएर यस विषयमा बोल्न आवश्यक रहेको बताए ।

दल निकटका ट्रेड युनियन हटाउन कुनै एउटा राजनीतिक दलले चाहेर नहुने उल्लेख गर्दै उनले प्रधानमन्त्रीको पहलकदमी आवश्यक रहेको बताए ।

‘दल पिच्छेको ट्रेड युनियन हटाउन प्रधानमन्त्रीले पहल लिनुपर्यो । नेता त्यो हो जसले राष्ट्रको हित हेर्छ । यो आँट कुनै दल एमाले, कांग्रेस, माओवादीले गरेर वा चाहेर हुँदैन । प्रधानमन्त्रीले पहल गर्नुपर्छ’ एमाले सांसद पन्तले भने ।

दल पिच्छेका ट्रेड युनियन हटाएर एउटा ट्रेड युनियन राखे हुने उल्लेख गर्दै उनले हिम्मत गरेर पहल लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे ।