Breaking

आईपीएलमा रोहितको खोजी, हार्दिक पाण्डेय तानिए विवादमा, खराब प्रदर्शनले समर्थक निराश


काठमाडौँ – छिमेकी मुलुक भारतमा अहिले इन्डियन प्रिमियर लिग चलिरहेको छ । एक महिनाभन्दा लामो अवधिसम्म हुने यो लिग ट्वान्टी–ट्वान्टी संरचनामा विश्वका चर्चित क्रिकेट प्रतियोगिता मानिन्छ । हरेक वर्ष हुने यो लिग यो वर्ष पनि सञ्चालनमा छ । लिगको दौरानमा मुम्बई इन्डियन्स टोली सर्वाधिक उपाधि जित्ने टोली हो । तर यो वर्ष यस टोलीले अहिलेसम्म एक पनि खेल जितेको छैन । फलतः यो टोलीले अहिले आलोचनाको सामना गर्नु परेको छ ।
भारतमा अहिले इन्डियन प्रिमियर लिग चलिरहेको छ । विश्व क्रिकेटको सर्वाधिक चर्चित फ्रेन्चाइज, इन्डियन प्रिमियर लिगको १७ औं संस्करण हो । सन् २००८ देखि सञ्चालन भएको यस प्रतियोगिता एक महिनाभन्दा लामो अवधिसम्म हुने ट्वान्टी–ट्वान्टी क्रिकेट हो । यो संरचनामा विश्वका चर्चित क्रिकेटरहरु पनि समावेश हुने गरेका छन् । केही वर्ष अघि नेपालबाट सन्दीप लामिछाने यो लिग खेल्न पुगेका थिए । सन्दीप बाहेक नेपालबाट अन्य खेलाडी अहिलेसम्म आईपीएलमा परेका छैनन् । यस पटकको लिगमा १० टिम समावेश छन् । यो वर्ष लिगमा मुम्बई इन्डियन्सको सुरुवाती चरण भने सुखत रहेन । सर्वाधिक उपाधि जितिसकेको मुम्बई इन्डियन्सले यतिबेला समर्थकहरुको आलोचना खेप्नु परिरहेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्स सर्वाधिक सफल टोली पनि हो ।


मुम्बईले हालसम्म पाँचपटक आईपीएलको उपाधि जितिसकेको छ । तर, आईपीएको १७औँ संस्करणमा भने मुम्बई सबैभन्दा कमजोर र विवादित टोलीको रुपमा देखिएको छ । जारी सिजनको आईपीएलमा मुम्बईले लगातार तीन खेलमा हार व्यहोरिसकेको छ । मुम्बई अंक तालिकामा पनि सबैभन्दा तल छ । मुम्बईलाई पहिलो खेलमा गुजरात टाइटन्सले ६ रनले, दोस्रो खेलमा सनराइजर्स हैदराबादले ३१ रनले र तेस्रो खेलमा राजस्थान रोयल्सले ६ विकेटले हराएका छन् । जारी सिजनको आईपीएलमा कप्तान सम्बन्धी विवादका कारण नै मुम्बईले स्वभाविक प्रदर्शन गर्न नसकेको धेरै समर्थकको आरोप छ । आईपीएल सुरु हुनुभन्दा ठिकअघि मुम्बईले आफ्ना नियमित कप्तान रोहित शर्मालाई हटाएर हार्दिक पाण्ड्यालाई कप्तान बनाउने निर्णय लिएको थियो ।

मुम्बईको उक्त निर्णयको ब्यापक आलोचना भएको थियो । समर्थकहरु पनि मुम्बईको ब्यवस्थापन पक्षसँग निकै रुष्ट बनेका थिए । टोलीमा रहेका सिनियर खेलाडीहरु पनि उक्त निर्णयबाट सन्तुष्ट देखिएका छैनन् । त्यसैको प्रभाव खेलमा परिरहेको बुझाई धेरै समर्थकको छ । यस्तोमा टोलीका नयाँ कप्तान हार्दिक पाण्ड्या दोहोरो मारमा परेका छन् । एकातिर उनको कप्तानीमा खेलिएको तीनवटै खेलमा मुम्बई पराजित भएको छ । त्यसैले उनीमाथि टोलीको प्रदर्शन सुधार्नु पर्ने तीव्र दबाब छ । अर्कोतिर, हरेकजसो खेलमा हार्दिक पाण्ड्याले समर्थकको आलोचना पनि खेप्नु पर्ने अवस्था छ ।
टोलीको कमजोर प्रदर्शनबाट रुष्ट बनेका थुप्रै समर्थकले हार्दिक पाण्ड्याको खिल्ली उडाउने गरेका छन् । हार्दिक मैदानमा प्रवेश गर्नासाथ समर्थकहरुले ‘रोहित–रोहित’ को नारा लगाउने गरेका छन् । रोहित शर्मा आईपीएलका सर्वाधिक सफल कप्तान हुन् । उनकै कप्तानीमा मुम्बईले पाँचपटक आईपीएलको उपाधि जितेको थियो । यसरी ५ पटकसम्म विजयको झण्डा गाडेको मुम्बई इन्डियन्स हार्दिक पाण्ड्याको नेतृत्वमा दर्शकको आलोचनाका साथै हरेक खेलको पराजयले आगामी दिनमा थप दबाबमा पर्दै गएको छ भने समर्थकमाझ राम्रो सन्देश प्रवाह गर्न सकिरहेको छैन । ओरालो लागेको मृगलाई बाछाले पनि लखेट्टछ भन्ने नेपाली लोकउक्ति झनै मुम्बई इन्डियन्सको यति बेला खराब समय चलिरहेको छ । यद्यपि, आगामी खेलहरुमा जित निकाल्दै खेलमा फर्किनै पर्ने दबाबमा रहेको यो टोलीको बाँकी खेल प्रदर्शन कस्तो रहन्छ ? सबैको ध्यान खिचिरहेको छ ।