Breaking

सुध्रिएनन् रेशम, रन्जिताको नौटंकी नै धेरै, रमिता हेर्दै प्रचण्ड, सत्ताले पार्टी विघटनको संघारमा


काठमाडौँ -नागरिक उन्मक्ति पार्टीमा श्रीमान् श्रीमतीको झगडा हत्या गर्ने धम्कीसम्मै पुगेको छ । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिने÷नदिनेबारे विवाद रहेकै बेला पार्टी नेताहरु प्रचण्डलाई भेट्न गए रेशम चौधरीले हत्या गर्ने धम्की दिएको घटना अहिले चर्चामा छ ।

टिकापुरमा आठ जनाको विभत्स हत्या गरेको अभियोगमा जेल सजाय भोगेका रेशम चौधरीले आममाफी पाएको १० महिनामै फेरि ज्यान मार्ने धम्की दिन थालेका छन् । अर्थात आफ्नो आपराधिक मानसिकता अहिले पनि जीवित भएको सन्देश उनी आफैँले दिएका हुन् । टिकापुरमा पहिचानको लडाईं लडेको दाबी गर्ने उनै रेशमको पार्टीमा अहिले मन्त्री खाने÷नखानेबारे ठूलो विवादले रेशम र उनकी श्रीमती रन्जिताको झगडाको बीचमा अरु नेताहरुसमेत पर्न थालेका छन् । पार्टीका संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूहरुमाथि रेशम पक्षले भौतिक आक्रमण गराएको आरोप लगाएका छन् । आफूसहित टिकापुर नगरपालिकाका जनप्रतिनिधिहरु चौधरीलाई भेट्न पार्टी कार्यालय पुगेका बेला सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने चार जनाको हत्या हुुन सक्ने धम्की दिएका हुन् । धम्की दिएको दोस्रो दिन आफूमाथि भौतिक आक्रमण भएकाले आफू असुरक्षित भएको भन्दै विकले पत्रकार सम्मेलन नै गरेका छन् ।

रेशम चौधरी पार्टीको अध्यक्षमा निर्वाचित भएपछि निर्वाचन आयोगले महाधिवेशनलाई अवैधानिक ठहर गरेको थियो । पार्टीलाई अगाडि बढाउने जिम्मेवारी २१ जना संस्थापक केन्द्रीय सदस्यले पाएको भन्दै उनीहरुको बैठक बोलाइएको थियो । सोमबार बिहान ८ बजे बोलाइएको बैठकमा अध्यक्ष रन्जिता श्रेष्ठ पुग्नु अगावै रेशम चौधरी पुगिसकेका थिए । बैठक सुरु हुनुअघि भएको अनौपचारिक छलफलमा विश्वकर्मा लगायतका नेताहरुले सरकारबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न जाने योजना सुनाए । रन्जिता पक्षले प्रचण्ड र रेशम पक्षले कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेकाले प्रचण्डलाई भेट्न जाने कुरा रेशमका लागि पाच्य भएन । त्यसपछि चौधरीले बालुवाटर गए त्यहीँ आएर पिट्ने धम्की दिए । त्यसपछि नेताहरुले महाधिवेशनमा २५ हजार बाँडेर केन्द्रीय सदस्य बनाए पनि निर्वाचन आयोगमा अद्यावधिक नगरिएकोबारे कसले जिम्मेवारी लिने भनेपछि रेशमले केटा लगाएर कुटेको आरोप विश्वकर्माले लगाएका छन्। यतिमात्र नभई कोठाको चुकुल लगाएर भकुरेको आरोप उनले लगाएका छन् । ]

यता आइतबारको बैठकमा धम्की दिएका रेशमले सोमबारको बैठकमा आवेशमा आएर धम्कीको भाषा प्रयोग भएकोप्रति माफीसमेत मागेका छन् । तर फेरि भौतिक आक्रमण भएकाले आफूहरु थप संशकित बनेको नेताहरुको भनाइ छ । अध्यक्ष रन्जिता श्रेष्ठसहित २१ जना संस्थापक केन्द्रीय सदस्यको ज्यान तलमाथि भए त्यसको जिम्मा रेशमले लिनुपर्नेसमेत नेता विश्वकर्माले बताए ।

चौधरीलाई दिएको आममाफी विरुद्धको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ । त्यसैकारण निर्वाचन आयोगलेसमेत उनलाई अध्यक्ष स्वीकार गरेको थिएन । सत्ता र शक्तिको आडमा आफूलाई जेलबाट छुटाउन कांग्रेसले लगाएको गुन रेशमले सुदूरपश्चिममा सहयोग गरेर देखाउन खोजिरहेका छन् । रन्जिता भने पहिलो कार्यकालमा मन्त्री खान पाएको लोभले श्रीमानविरुद्ध नै राजनीति गर्न खोजिरहेकी छन् । गत फागुनमा मात्रै महाधिवेशनका कारण पार्टी राजनीतिले पारिवारिक जीवन नै धरापमा पर्ने देखिएपछि विवाद नगर्ने सहमति भएको थियो । तर सत्ताको लोभले फेरि त्यो घरझगडा बल्झिएको छ । हत्या गर्ने धम्की दिएपछि रेशमले आफूलाई फेरि जेल पठाएर सत्ताको हालीमुहाली गर्ने षड्यन्त्रको रुपमा बुझेको प्रतिक्रिया दिएका छन् । रेशम पक्षले पनि कसैलाई धम्की नदिएको र हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।
चौधरी पक्षले फेरि चैत २३ र २४ केन्द्रीय समितिको बैठक बोलाएको छ । सो बैठकले जे निर्णय गर्छ त्यही स्वीकार्नु पर्ने रेशमको भनाइ छ । पार्टी कसैको पेवा होइन, पहिचानवादीहरुको साझा आवाज हो भन्दै आफूलाई असली भूमिपुत्र बताउने रेशमले बुझ्नुपर्छ– श्रीमान्–श्रीमतीको झगडामा हजारौँ भूमिपुत्रहरुको मत पाएका जनप्रतिनिधिलाई धम्की दिने अधिकार कसले दियो ? सत्ताको चास्नीमा घुल्न पहिचानका नाममा विकृत राजनीतिक कहिलेसम्म ?