Breaking

रविलाई कांग्रेस सांसदको चुनौती, घोटालाको प्रमाण छ, एक लाखमाथि पारिश्रमिकमा मात्र युवा विदेश पठाऔँ


काठमाडौँ – सोमबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले विभिन्न समसामयीक विषय उठान गराएकाछन् । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने मागलाई सहजतापूर्वक स्वीकार गर्न सबै दलहरुलाई आग्रह पनि गरेको छ ।

सोमबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले विभिन्न समसामयीक विषयमा सभामुखबाट सरकारको ध्यानाकर्षण गराए । अघिल्ला बैठकमा झै नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठायो । सांसद प्रतिमा गौतमले सरकारले सहकारी पीडितहरुलाई न्याय दिनुभन्दा पनि सहकारी ठगहरुको पक्षमा वकालत गरेको आरोप लगाइन् । उनले गृहमन्त्री लामिछानेलाई सहकारी ठगको संज्ञा दिँदै प्रधानमन्त्रीले संसदमा उभिएरै गृहमन्त्रीको पक्षमा न्यायाधीश जसरी फैसला सुनाएको आरोप लगाइन् । संसदीय छानबिन समिति बनाउने प्रतिपक्ष दल कांग्रेसको मागलाई सहजतापूर्वक स्वीकार गर्न सबै दलहरुलाई उनले आग्रह गरिन् ।

कांग्रेसकै सांसद अर्जुननरसिंह केसीले एसपीको बढुवामा वरिष्ठतम व्यक्तिहरुलाई नगरिएको भन्दै यसले सरकारको सुशासनको नारालाई धज्जी उडाएको बताए । उनले एनसेल र सुनकाण्डको प्रतिवेदन संसदमा पेश गर्न पनि माग गरे ।

नेकपा (माओवादी केन्द्र) का सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरुको मासिक पारिश्रमिक एक लाख रुपैयाँ तोक्नुपर्ने माग गरेका छन् । सांसद राईले फ्रि भिसा फ्रि टिकट भनिए पनि दुई लाख रुपैयाँसम्म लिएर विदेश पठाउने गरिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

यसैगरी सांसद अनिशा नेपालीले सरकारको प्रतिबद्धता अनुसार तुइन बिस्थापित हुन नसकेको भन्दै सम्बन्धित ठाउँमा पुलको व्यवस्था गर्न माग गरिन् । नेपालीले २०७२ सालमा तुइन बिस्थापित गर्ने निर्णय भए पनि हालसम्म तुइन बिस्थापित हुन नसकेको बताउँदै तुइन बिस्थापित गरेर पुलको व्यवस्था गर्नुपर्ने बताईन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेट कनिका छरे जसरी नछर्न मन्त्रीहरुलाई आग्रह गरेका छन् । पहुँचको आधारमा आफ्नो क्षेत्रमा बजेट लान दिनु नहुने उनको भनाइ थियो ।