Breaking

विश्वप्रकाशको ब्रिफिङ : ३० वर्षपछि इलाम-२ मा कांग्रेसलाई अवसर


काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाम-२ मा उपचुनाव जित्ने अवस्था रहेको नेतृत्वलाई ब्रिफिङ गरेका छन् ।

पूर्वसभामुख सुवास नेम्बाङको निधनपछि रिक्त इलाम–२ मा प्रतिनिधिसभा सदस्यका लागि १५ वैशाखमा उपनिर्वाचन हुँदैछ । एमालेले नेम्बाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बुलाई उठाएको छ ।

कांग्रेसले भने उम्मेदवार छानेको छैन । उम्मेदवार टुंगो लगाउन संसदीय बोर्डको बैठक भोलि मंगलबार दिउँसो २ बजे बोलाइएको छ । त्यसको अघिल्लो दिन पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बसेको थियो ।

सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बसेको बैठकमा हालै इलाम गएर फर्किएका महामन्त्री शर्माले त्यहाँको अवस्थाबारे जानकारी गराएका थिए । २०७९ मंसिरको चुनावमा नेम्बाङ ३० हजार २० मतका साथ निर्वाचित हुँदा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत पाएका थिए ।