Breaking

एसइईमा चिट चोराइएको विषयको जिम्मा सिडिओ, एसपी र निरीक्षकले लिनुपर्छ : मनिष झा


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेसमा एसइई परीक्षामा चिट चोरिएको विषयमा दोष त्यहाँका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र निरीक्षकले लिनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले मधेसका विभिन्न जिल्लामा एसइईमा चिट चोराइएको र आम मधेसलाई दोष दिइएको भन्दै मधेसलाई दोष नदिन आग्रह गरेका हुन्।

सरकारले खटाएको प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरुले चिट चोर्न छुट दिएको भन्दै चिट चोराउनुमा मधेसको कुनै दोष नभएको उनले बताए। सरकारले मधेसमा हुँदै गरेको परीक्षालाई गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए।

‘मधेसले पहाडलाई पढाउनको लागि कुनै बेला उक्लिने गर्थ्यो। तर अहिले मधेस आफैँ एसइई परीक्षा हुँदै गर्दाखेरी चिट चोर्नेहरुको चपेटामा पर्दै छ। यसको दोष मधेसले किन खेप्दैछरु काठमाडौंमै सुनिन्छ, कसैको ड्राइभिङ लाइसेन्स छैन भने मधेस झरौँ न त्यहाँ बनिहाल्छ। कोही एसइई पास हुन सकेन भने मधेस झरौँ त्यहाँ पास भइहाल्छ भन्ने कुरा। तर त्यसको इमेजको कस्ट मधेसले तिरिराखेको छ,’ उनले भने, ‘त्यो हामीले किन तिर्नेरु किनकी यहीँबाट खटाइएको सिडिओ, एसपी, निरीक्षक सबै अधिकारीहरुले छुट दिइराखेको छ, त्यसको मूल्य मधेसले तिरिराखेको छ। तर यसको दोष हामी मधेसी होइनौँ, यसको दोष केन्द्रबाट खटाइने सिडिओ, एसपी र अरु अधिकारीहरु हुन्।’

उनले आगामी दिनमा सम्बन्धित अधिकारीको त्रुटिका कारण त्यसको मूल्य मधेसले नतिर्ने पनि बताए।