Breaking

आरिफको उत्कृष्ट ब्याटिङमा आयरल्यान्ड ए लाई नेपालले दियो २१४ रनको लक्ष्य


काठमाडौँ – अनुभवी ब्याटर आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल ए ले तेस्रो तथा अन्तिम टी-२० खेलमा आयरल्यान्ड ए लाई २१४ रनको बलियो लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनायो ।

नेपालका आरिफ शेख ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनमा नट आउट रहे । कमलसिंह ऐरी ७ बलमा २ चौका र १ छक्कासहित १९ रनमा नट आउट रहे ।
नेपालले ओपनर लोकेश बमलाई ८, देव खनाललाई ६ र विनोद भण्डारीलाई ११ रनमा गुमाएको थियो । चौथो विकेटका लागि बसिर अहमद र आरिफ शेखले ४७ रनको साझेदारी गरेका थिए । बसिर २१ बलमा ३ चौकासहित १९ रनमा एलबीडब्लू आउट भए ।

पवन सरार्फ १३ र नारायण जोशी १ रनमा आउट भए । राशिद खानले १३ बलमा ३ छक्कासहित महत्वपूर्ण २४ रन जोडेका थिए । आयरल्यान्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १-१ विकेट लिए । तीन खेलको सिरिजमा नेपाल सुरुवाती दुई खेल २१ रन र ४० रनले पराजित हुँदा सिरिज गुमाई सकेको छ ।