समाचार

अस्कलमा अखिल र क्रान्तिकारीका विद्यार्थीबीच झडप


काठमाडौँ— लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल)मा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल र माओवदी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी निकट विद्यार्थीबीच झडप भएको छ ।

झडपमा क्रान्तिकारीमा आबद्ध दुई विद्यार्थी घाइते भएका छन् । घाइते हुनेहरुमा अखिल क्रान्तिकारी अस्कल क्याम्पसका इकाइ कमिटी अध्यक्ष जितेन्द्र भण्डारी र उपाध्यक्ष विश्राम शर्मा उनीहरुलाई सामान्य चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

भण्डारीको मुख र नाकमा चोट लागेको छ । शर्माको बाँया हातको बुढी औंलामा चोट लागेको छ ।

त्यस्तै उनीहरुमाथि कुटपिट गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहनेहरुमा अनेरास्ववियु अस्कल क्याम्पस इकाइ कमिटी अध्यक्ष पंकज पाण्डे र अस्कल इकाइ कमिटीका सदस्य गणेश शाही छन् । आइतबार साँझको घटना रहेको प्रहरीले जनाएको छ ।

शाही जुम्लाका हुन् भने पाण्डे कन्चनपुरका हुन् । उनीहरु दुवै जना क्याम्पसकै होस्टलमा बस्दै आएका थिए ।

अहिले दुई पक्षबीच छलफल गर्ने तयारी भएको छ । पहिलादेखिकै रिसइबीका कारण सामान्य झगडा भएको देखिन्छ ।

आइतबार साँझ भलिबल खेल्ने क्रममा विवाद हुँदा उनीहरुबीच झडप भएको प्रहरीले जनाएको छ ।

कुटपिट गरेको आरोप लागेका एक व्यक्ति भने फरार छन् । फरार हुनेमा खेम सिंह रहेको पाइएको छ ।