राजनीति

प्रचण्डले नै भ्रष्टाचारी जोगाए, आईजीपीले रवि बचाएको आरोप, भारतीय ट्रकलाई रोक लगाउन माग (भिडियोसहित)


काठमाडौँ— लामो समय स्थगित भएर आइतबार बसेको संसद बैठकमा सांसदहरुले समसामयीक विषयका साथै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागलाई निरन्तरता दियो । कांग्रेसले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएकाले संसदीय छानबिनका लागि पनि आवाज उठायो ।सभामुख देवराज घिमिरेको ८ दिने विदेश भ्रमणकै कारण लामो समय स्थगित बैठक आइतबार बसेको हो ।

१० दिनपछि बसेको प्रतिनिधि सभा बैठकमा आइतबार सांसदहरुले समसामयीक विषय उठाएका छन् । सभामुख देवराज घिमिरेसहित शीर्ष राजनीतिक दलका प्रमुख सचेतकहरू आठ दिने जेनेभा भ्रमणमा गएका थिए । बजेट निर्माण र विधेयकहरूमाथि छलफल जारी रहेका बेला बैठक स्थगित हुँदा ‘बिजिनेस’ प्रभावित भएकोे सांसदहरूले गुनासो गरे । आइतबारको संसद बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग कायमै राख्यो । सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय छानबिन समिति बनाउन सांसद सञ्जयकुमार गौतम माग गरे । उनले प्रधानमन्त्रीले ठूला माछालाई काखीमा च्यापेर सानो माछा खोजेको आरोपसमेत लगाए ।

सत्तारुढ नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले नेपालमा भारतीय मालबाहक ट्रकमाथि तत्काल निगरानी राख्न सरकारसँग माग गरे । उनले नेपालको ट्रक उद्योगनै बन्द हुने अवस्थामा पुग्दा पनि सरकारले भारतीय ट्रकलाई नेपालमा निर्वाध रुपमा सञ्चालन हुने कुरामा रोकावट नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मीहरु नियुक्त गर्न माग गरिन् । बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले वीर अस्पतालमा स्वास्थ्यकर्मीको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको भन्दै तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न माग गरेकी हुन् । अघिल्लो स्वास्थ्यमन्त्रीले एकैपटक २७६ जना स्वास्थ्यकर्मीलाई वीर अस्पतालबाट निकालेर अस्पतालको सेवा नै अलपत्र पारेको उनले गुनासो गरिन् ।

यता स्वतन्त्र सांसद अमरेशकुमार सिंहले न्यायाधीशहरुको आचरण छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गरे । न्यायपालिकाको निर्णय प्रक्रिया कानूनसम्मत र संविधानसम्मत हुनुपर्ने उनको भनाइ छ ।

प्रतिनिधिसभाका सांसदहरुले समसामयीक विषयमा सभामुखको ध्यानाकर्षण गराए । दुर्गम क्षेत्रका जनताले नुन नपाएको पनि केही सांसदले गुनासो गरेका थिए ।