Breaking

गएरातिको हावाहुरीले भक्तपुर एफएमको टावरमा क्षति


काठमाडौँ— गएरातिको हावाहुरीले भक्तपुर एफएमको टावरमा क्षति पुगेको छ । टावरमा क्षति पुगेपछि एफएमको प्रसारणमा पनि बाधा पुगेको छ ।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले एफएमको टावरमा क्षति पुगेको बताए । तर विस्तृत विवरण थाहा नभएको उनले बताए ।

भक्तपुर एफएमका सदस्य सत्यनारायण मानन्धरले एफएमको टावर ढल्किएको र प्रसारण बन्द गरेको जानकारी दिए । उनले भने, ‘टावर अलिकति झुकेको छ । अरु क्षति भएको छैन । अहिलेलाई प्रसारण रोकेका छौं ।’

उनले थप अध्ययनका लागि साउन्ड इन्जिनियरलाई बोलाइएको र इन्जिनियरले भनेअनुसार अघि बढ्ने बताए ।

भक्तपुर प्रहरी परिसरका प्रवक्ता बसन्त पाठकले पनि गएरातिको हावाहुरीले एफएमको टावरमा क्षति पुगे पनि अन्य क्षतिको विवरण प्राप्त नभएको बताए ।

शनिबार बेलुकी काठमाडौंमा मेघगर्जन र हावाहुरीसहित पानी परेको थियो ।