दुर्घटना

नेपालका सडक यमराजको निम्तो, ६२ लाख गाडी हेर्ने २ हजार ट्राफिक, दैनिक जान्छ ७ जनाको ज्यान (भिडियोसहित)


काठमाडौँ— नेपालको सडक निकै असुरक्षित रहदाँ नागरीकले अकालमा ज्यान गुमाउन बाध्य छन् । जोखिमयूक्त सडकका कारण दैनिक सात जना नागरीकले ज्यान गुमाएको प्रहरीको तथ्यांक छ । शनिबार मात्र त्रिशूली नदिमा ट्याक्सी खस्दा एक बालिकासहित ५ जनाले ज्यान गुमाएका छन् ।

नेपालको सडक यात्रा मृत्यु मार्ग बन्ने गरेको छ । पछिल्लो समयमा भएको दुर्घटनाको दर हेर्ने हो भने दैनिक सात जना मानिसले अकालमा ज्यान गुमाईरहेकाछन् । प्रहरीको तथ्याङक अनुसार सवारी दुर्घटनामा ज्यान गुमाउने संख्या डर लाग्दो छ । शनिबार मात्र काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्दा एक बालिकासहित ५ जनाले ज्यान गुमाएका छन् भने एकजना बेपत्ताछन् । चितवनको इच्छाकामना—५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा गोरखा नगरपालिका—७ की ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, ९ वर्षीय आगमन नगरकोटी र ३५ वर्षीय ट्याक्सीचालक अर्जुन शिर्मलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन् । शनिबार नै पोखरा महानगरपालिका –२७ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो ।

एक सातामा मात्र सवारी दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् । गत बुधबार मुगुमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान जाद, ४ जना घाईते भए । मुगुको गमगढीबाट सोरू गाउँपालिका तारापानीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ज ००५९ नम्बरको जिप दुर्घटनामा परेको थियो । त्यस्तै अछामको मेल्लेख गाउँपालिकामा सोमबार ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३ जना घाइते भएका छन् । षोडशाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१ ००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको थियो । उता चैत १० गते हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–४ मा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएकाछन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । गत, शुक्रवार नेपाल प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा तथ्यांक प्रश्तुत गर्दै केन्द्रिय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले सवारी दुर्घटनामा दैनिक ७ जनाको मृत्यु हुने गरेको बताएकाछन् । एक दिनमा ६५ वटा सवारी दुर्घटना हुने गरेको र ८३ जना घाइते हुने गरेको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ । देशभर ६२ लाख ३८ हजार ३०१ सवारी साधन दर्ता छन् । यसका लागि ट्राफिक प्रहरीको जनशक्ति भने, २ हजार ७७० जना छ ।औषतमा एकजना ट्राफिक प्रहरीले २ हजार २५२ वटा सवारी साधन हेर्नु पर्ने अवस्था छ।

विगत एक वर्षको अवधिमा ट्राफिक प्रहरीले जरिवाना बापत १ अर्ब ८६ करोड ५२ लाख २६ हजार १५४ रुपैयाँ राजश्व उठाएकाछन् ।
पछिल्लो समय ठूला सडक दुर्घटना बढ्दा नागरीकले अकालमै ज्यान गुमाउन बाध्य भएकाछ्न । देशभर सडक खन्ने होडबाजी नै चलेको छ। तर भत्काइएको सडक महिनौंसम्म अलपत्र अवस्थामा रहदा नेपालको सडक मृत्युमार्ग बन्ने गरेको छ । सरकारले सबै सडक तथा राजमार्ग नियमित रूपमा कालोपत्रे गर्न तथा खाल्टाखुल्टी पुर्न सकेको छैन । सवारी दुर्घटनामा सरकार र व्यवसायीबीच आरोप–प्रत्यारोप चल्ने गरेको छ । सरकारले सडकलाई संवेदनशील क्षेत्र मानेर भरपर्दो, सुरक्षित सडक र सवारी बनाउने विशेष ठोस कदम अघि सार्न चुक्दा बढी दुर्घटना हुने गरेको पाइन्छ ।