Breaking

सुहाङ र मिलन भोट माग्दै इलाममा, कांग्रेसमा टिकटकै लफडा, देउवा र शेखर गुटकै भिडन्त (भिडियोसहित)


काठमाडौँ— बैशाख १५ मा हुने उपनिर्वाचन आउन महिना दिनभन्दा कम समय बाँकी हुँदा शीर्षस्थ दलको नजर इलाम दुईमा केन्द्रित छ । तर, एमाले, रास्वपा जस्ता पार्टीले युवालाई अघि सार्दा नेपाली कांग्रेसले भने अहिलेसम्म उम्मेदवारको नै टुंग्यो लाउन सकेको छैन । भेषराज आचार्य र डम्बरबहादुर खड्काबीच टिकटकै लागि टकराब पर्दा कांग्रेसको उम्मेदवार को ? भत्रेमा अहिले सबैको चासो बढिरहेको छ ।


विगतमा काठमाडौंमै दैनिकी बिताइरहेका नेकपा एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु अहिले इलाममा छन् । उता जिल्लामा राजनीति गर्दै आएका नेपाली कांग्रेसका नेताहरू भने अहिले काठमाडौं धाइरहेका छन् । नेम्वाङ र लिम्बु टिकट लिएर इलाममा भोट माग्न घरदैलोमा निस्किसक्दा पनि कम्युनिस्टहरूलाई पछार्ने योजना बुनेको कांग्रेसले आफ्नो उम्मेदवारकै टुंगो लगाउन सकेको छैन । यसका बाबजुद उपनिर्वाचनबाटै भए पनि संसद्मा पुग्ने अभिलाषका साथ आकांक्षीहरू टिकटका लागि शीर्ष कांग्रेस नेताहरूको घर–दैलो चहारिरहेका छन् । कोशी प्रदेश कार्य समितिले क्षेत्र, जिल्ला प्रदेश हुँदै क्रमशः भेषराज आचार्य, पूर्वसांसद् केशव थापा, जिल्ला सभापति डम्बर खड्का, नगेन्द्रकुमार कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईसहित सात जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । तीमध्ये चन्द्रमाया र चन्द्रकलाबाहेक अहिले सबै काठमाडौंमा टिकटका लागि ताकेता गरिरहेका छन् ।

टिकटका लागि पाँचै जनाले आश गरे पनि अहिले डम्बर र भेषराजको नाम बढी चर्चामा छ । यसअघिको आम निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङसँग एक सय १४ मतको झिनो अन्तरले पराजित भएका डम्बर खड्का पार्टी सभापति शेरबहादुर देउवा र आरजु देउवा निकट मानिन्छन् । पेशाले निर्माण व्यवसायीसमेत रहेका उनी जिल्ला सभापति भएकै कारण केन्द्रका नेताहरूसँग राम्रो पहुँच छ । आर्थिक रुपले पनि सबल रहेका खड्काले नै पार्टीको १४ औं महाधिवेशनको जिल्ला सभापतिमा भेषराजलाई पराजित गरेका थिए ।

शेखर–गगन निकट रहेका भेषराजको तुलनात्मक रुपमा केन्द्रमा पहुँच नभए पनि तल्लो तहमा जबरजस्त पकड छ । जुनकुरा नाम सिफारिस गर्दा पनि पुष्टि भएको र खड्का आफैँ जिल्ला सभापति हुँदा पनि कार्यकर्ताले नमानेपछि पहिलो नम्बरमा भेषराजकै नाम राखेर सिफारिस गर्नु परेको थियो । संस्थापनइतर नेताहरूको सहानुभूति रहेको भेषराज आफूले बाहेक अन्यले टिकट पाए जित्नै नसक्ने दाबी गर्छन् । क्षेत्रीय सभापति, उपसभापति, सचिव, प्रदेश सांसद सबै आफ्नो पक्षका भएको दाबी गरेका भेषराजले आफूले टिकट नपाए १५÷२० प्रतिशत कांग्रेसी कार्यकताले निराश भएर पार्टी छोड्ने चेतावनी दिइरहेका छन् ।

संयोग नै मात्रु पर्छ पार्टीको १४ महाधिवेशनमा जिल्ला सभापतिमा भिडेका यी दुईको भिडन्त उपनिर्वाचनको टिकट प्राप्तिमा पनि देखिएको छ । स्वास्थ्योपचारका लागि आरजू देश बाहिर रहेको हुँदा खड्कालाई आफ्नो टिकट फुत्किने हो कि भन्ने डर एकातर्फ छ भने महामन्त्री गगन थापा संवाद यात्रामा भएकाले आचार्य पनि सशङ्कित छन् । २०७० मा सुवाससँग हारेका भेषराज र २०७९ मा हारेका खड्का जसले टिकट पाए पनि सुवास नेम्वाङका छोरा सुहाङसँग बदला लिने अवसर छ । जित सुनिश्चित गर्नका लागि ग्राउण्ड जिरोबाट आएको व्यक्तिलाई नै पार्टीले टिकट दिने केन्द्रको तयारी छ ।

छ स्थानीय तह सरकार भएको यस क्षेत्रमा ४२ वडामध्ये २२ वटा वडामा कांग्रेसले नेतृत्व सम्हालिरहेको छ । इलाम २ क्षेत्रका बासिन्दाको जनभावना बुझ्न पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भिष्मराज आङ्देम्बे स्थलगत अवलोकनमा खटिएका छन् । उनीहरूले यसबारे पार्टी सभापति देउवालाई ब्रिफिङ गर्ने छन् । पार्टीको उम्मेदवार संसदीय बोर्डको बैठकले छनोट गर्नुपर्ने प्रावधान हुँदा उक्त बोर्डको बैठक २० गते बस्ने र त्यही बैठकबाट उम्मेदवारबारे अन्तिम निर्णय लिने कांग्रेसको तयारी छ ।