Breaking

एमडीएमएस प्रकरणमा प्राधिकरणका बहालवाला ११ कर्मचारी मुछिए


काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणका बहालवाला ११ कर्मचारी एमडीएमएस खरिदसम्बन्धी भ्रष्टाचार प्रकरणमा मुछिएका छन् ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार मुद्दा दायर गरेको थियो । अख्तियारले १९ जना र दुई कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएकोमा दुईजना प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनाल हुन् । अर्का एक प्राधिकरणकै पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल छन् । यीबाहेक ११ जना प्राधिकरणको बहालवाला कर्मचारी छन् भने पाँचजना खरिदमा संलग्न कम्पनीका कर्मचारी हुन् ।

प्राधिकरणमा हाल कार्यरत रहेका निर्देशकहरू मीनप्रसाद अर्याल, दीपेश आचार्य र सुरेन्द्रलाल हाडालाई पनि भ्रष्टाचार गरेको आरोप लागेको छ । उपनिर्देशकहरू अच्युतानन्द मिश्र, विनोदचन्द्र श्रेष्ठ, रेवतीराम पन्थ, सन्दीप अधिकारी, विजयकुमार राय र सूर्यप्रसाद लामिछानेविरुद्ध पनि मुद्दा दायर भएको हो ।
यस्तै, प्राधिकरणकै सहायक निर्देशक प्रतीक्षा पौडेल र निराजन कोइरालालाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।