खेलकुद

बिराजभक्तको पहल, क्रिकेट खेलाडीले पैसा पाउने पक्का, अर्थको वचन, विश्वकप तयारीमा जुटे (भिडियोसहित)


काठमाडौँ— विभित्र प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाईं गरिएको छ । विश्वकप खेल्ने तयारीमा रहेको टोलीलाई भारतको राज्यस्तरका टोली र एसीसी प्रिमियर कपमा जितको शुभकामनासहित बिदाईं गरिएको हो ।
एसीसी प्रिमियर कप खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाईं गरिएको छ । नेपाल क्रिकेट सङ्घले बिहीबार बिहान काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै टोलीलाई बिदाईं गरेको हो ।

आईसीसी टी–२० विश्वकपको तयारीमा समेत रहेको टोलीले प्रिमियर कप खेल्नु अघि भारतको राज्यस्तरका टोलीसँग ट्वान्टी–२० प्रतियोगिता खेल्ने छ । विश्वकप र प्रिमियर कप खेल्नु अघि भारतका बरोडा र गुजरातको टोलीसँग खेल्न पाउनु नेपालका लागि फलदायी हुने प्रशिक्षक मोन्टी देशाईंको भनाई छ । प्रशिक्षक देशाईंले नेपाल प्रिमियर कपको डिफेण्डिङ च्याम्पियन पनि भएको हुँदा आफूहरूको लक्ष्य उपाधि रक्षा नै भएको बताएका छन् । विश्वकप यात्रा गर्नु सबैभन्दा खुशीको क्षण रहेको उल्लेख गर्दै सबै जना नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको विश्वास व्यक्त गरे ।

विश्वकप आगामी जुनमा हुने भएकाले अब आउने दुई÷तीन महिना नेपाली क्रिकेटका लागि एकदमै महत्वपूर्ण रहेको क्यानका सचिव पारस खड्काले बताए । खड्काले नेपाली क्रिकेट टिम विश्वकपको तयारीमा रहेको अवस्थामा गुजरातको सिरिज एकदमै महत्वपूर्ण भएकोसमेत उल्लेख गरेका छन् । यो प्रतियोगिताका लागि क्यानले निकै मेहनत गरेको बताएका उनले देशको प्रतिनिधित्व गर्ने इच्छा धेरैको हुने र त्यो मौका अहिले छानिएका १५ जना खेलाडीले पाएको हुँदा खेलाडीहरूलाई राम्रो प्रदर्शन गर्नसमेत आग्रह गरे ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले क्रिकेट खेलका लागि टिम तयार रहेको बताउँदै आफ्नो तर्फबाट तयारी पूरा भएको बताए । आफूहरूले पाएको अवसरलाई महत्व दिएर खेल्ने भन्दै उनले सरकारले तोकेको पुरस्कार नदिएकोप्रति गुनासो गरे । सरकारले विभिन्न पुरस्कार घोषणा गरेको तर त्यसबापतको पूरा रकम आउन बाँकी रहेकोे उनको भनाइ छ । साथै उनले खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठकै अघि रकम चाँडो उपलब्ध गराई दिन आग्रहसमेत गरे ।

युवा तथा खेलकुद मन्त्री श्रेष्ठले खेलकुदलाई नयाँ ढंगबाट अगाडि बढाउन आफू लागिपरिरहेको धारणा राखेका छन् । श्रेष्ठले सरकारले दिने भनेको रोकिएका पुरस्कार राशीको प्रक्रियालाई अगाडि बढाउने आश्वासन दिए । राजनीतिक क्षेत्रमा भएको अस्तव्यस्थताका कारण खेलाडीहरूलाई पुरस्कार बापतको रकम उपलब्ध गराउन असहज भएको बताउँदै उनले खेलको परम्परागत शैलीलाई नीतिगत रुपमै सुधार गरेर नयाँ तरिकाबाट हेर्न आवश्यक भएको र सुधारको लागि आफू प्रयासरत रहेको उल्लेख गरे ।

भारतको राज्यस्तरसँगको फ्रेण्डसिप कप आगामी मार्च ३१ देखि अप्रिल ७ सम्म हुनेछ । नेपालले मार्च ३१ र अप्रिल ३ मा गुजरात तथा अप्रिल २ र ५ मा बरोडासँग खेल्नेछ । लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । यो प्रतियोगिताअघि नेपालले घरेलु मैदानमा आयरल्याण्ड ‘ए’ विरुद्ध दुई खेलको श्रृंखलामा ‘क्लिन स्विप’ गरेको थियो । एसीसी प्रिमियर कप अप्रिल १२ देखि २१ तारिखसम्म ओमनमा हुँदैछ । ओमनमा हुने प्रिमियर कपमा मलेसिया, कतार र साउदी अरेबिया रहेको समूह ए मा नेपाल रहेको छ । समूह बीमा रहेको यूएई, ओमान, कुवेत, बहराइन र कम्बोडियासहित १० टोलीको सहभागी राष्ट्रको विजेताले एसिया कप खेल्ने छ । त्यस्तै, ट्वान्टी २० विश्वकप जुन १ देखि अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । समूह ‘डी’ मा रहेको नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स जस्ता देशसँग प्रतिष्पर्धा गर्ने तालिका छ ।