Breaking

कर्णालीमा बेपत्ता युवकको खोजी स्थगित


काठमाडौं । चिसापानीस्थित कर्णाली पुलबाट सोमबार दिउँसो नदीमा हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य स्थगित गरिएको छ ।

कर्णाली नदीमा बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाहीको मंगलबार दिनभर खोजी गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरको टोली र स्थानीय समेतले शाहीको खोजी गरेपनि उनी भेटिएका छैनन् ।

साँझ परेका कारण आजलाई खोजी कार्य स्थगित गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिनुभयो । सोमबार होलीमा रमाइलो गर्दै कर्णाली पुलमा पुगेका १७ जना युवाले एकसाथ कर्णाली नदीमा हाम फालेका थिए ।

उनीहरु मध्ये १६ जना पौडी खेलेर सकुशल तैरिएपनि शाही भने नदीमै बेपत्ता भएका थिए । प्रहरी निरीक्षक डाँगीले कर्णाली नदीमा हाम फालेका मध्येका ६ जनालाई घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको बताउनुभयो । उहाँकाअनुसार उनीहरुलाई सोधपुछपछि मात्र घरपरिवारको जिम्मा लगाइनेछ ।